कैलालीमा डडेल्धुराका ऐरमाथि आक्रमण : थप एक जना पक्राउ, ३ अझै फरार
धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा भएको ज्यान मार्ने प्रयास प्रकरणमा संलग्न १२ जना पक्राउ परेका छन्।
यस अगाडि ११ जना समातिएकोमा थप १ जना अहिले पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा धनगढीका तेजु रोकाया रहेका छन्। उनलाई आजै प्रहरीले पक्राउ गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज २६ गते राति करिब ११:४५ बजे डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। ऐर गगन बढैलाले सञ्चालन गरेको शुभम होटलमा नास्ता खाइरहेका बेला बाहिरबाट आएको समूहले हतियार प्रहार गरेको जनाइएको थियो।
आक्रमणबाट ऐरको हातको औँला काटिएको र टाउको तथा घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका ऐर हाल भारतमा उपचाररत छन्।
घटनापछि फरार आक्रमणकारीहरूको खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले असोज २८ गते बिहान करिब २ बजे धनगढी–३ त्रिनगर भन्सार नजिकैको नेपाल–भारत सीमाक्षेत्रबाट ११ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेकामा धनगढी–२ का २९ वर्षीय सन्नी उर्फ भिम नेपाली (कोब्रा सरकार), १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी–३ का १८ वर्षीय बिशाल बोहरा, कञ्चनपुर कृष्णपुर–९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोबिन्द बलायर, पुनर्वास–१० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिक रहेका छन्।
प्रहरीका अनुसार सन्नी ‘कोब्रा सरकार ग्याङ’ का नेतृत्वकर्ता हुन्। यही समूहका सदस्यहरूले गत वर्ष फागुनमा अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेका थिए। सो घटनामा नो–लाइट शाखाका कर्मचारी सुन्दरलाल चौधरी घाइते भएका थिए। त्यसबेला प्रहरीको फरार सूचीमा परेका सन्नी र उनका साथीहरूले फेरि गोदावरीमा अर्को हिंसात्मक घटना दोहोर्याएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका सबैजनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। परिवारले दिएको जाहेरीका अनुसार घटनामा १५ जना संलग्न थिए भने ३ जना अझै फरार रहेका छन्।
प्रतिक्रिया