दार्चुलाको छाङरुको काठ भारत तस्करी

  मङ्गलबार २४, भदौ २०८२ ०८:४९

दार्चुला । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने व्यास गाउँपालिका–१, छाङरु सामुदायिक वन अन्तर्गतको कौवा वनबाट अवैध रूपमा काठ भारत तस्करी भइरहेको विषय बाहिर आएको छ । भारतीय नागरिकले सो वनबाट गोब्रे ९लेकाली सल्ला० का रुख आफैँ काटेर अवैधरूपमा तस्करी गर्ने गरेको स्रोतले बताएको छ । 

स्रोतका अनुसार भारतीय नागरिकले महाकाली नदीबाट एक्साभेटर ल्याएर काठ भारत तार्ने गर्छन् । एक्साभेटरको बकेटमा काठ लोड गरेर भारत लैजाँदै गरेको भिडियोमा देखिन्छ । काठ तस्करी गरिरहेको तीन मिनेट छ सेकेन्ड र २१ सेकेन्डका दुई वटा भिडियो गोरखापत्रसँग सुरक्षित छ । ती भिडियोमा नेपालको वन कौवा क्षेत्रबाट काटिएका सल्लाका रुख महिला र पुरुषले लोड गरी भारततर्फ लैजाँदै गरेको देखिन्छ । 

काठ तस्करी गरिरहेको २१ सेकेन्डको भिडियोमा भनिएको छ, “इन्डियाके लोग भी नेपाल पौचगए ।” यो काठ २०८१ चैत र वैशाखमा भारत तस्करी भएको स्रोतको दाबी छ । कौवा क्षेत्रबाट विभिन्न समयमा ठुलो मात्रामा अवैध रूपमा भारततर्फ काठपातको तस्करी तथा वन्यजन्तुको चोरीसिकारी हुने गरेका सूचना विभिन्न स्रोतमार्फत प्राप्त हुने गरेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर छाङरुका गुल्मपति फणीन्द्रबहादुर शाहीका अनुसार अहिले कौवा क्षेत्रमा सशस्त्र प्रहरीको नियमित गस्ती हुने गरेको छ । गस्ती गएको बेला गत वैशाखतिर कौवा क्षेत्रबाट सशस्त्र प्रहरीले रुख काट्न प्रयोग गर्ने मेसिन (चैन–स) दुई थान फेला पारेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीको टोली देखेपछि भागेका तस्करले एकअर्कालाई सम्पर्क गर्न प्रयोग गर्ने दुई थान बेवारिसे वाकिटकी सेटसमेत बरामद गरेको जानकारी उहाँले दिनुभयो ।

व्यासका स्थानीय एवं विद्यार्थी नेता दीपक खातीले सीमा क्षेत्रको अवैध गतिविधि नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन गर्दै नियमित रूपमा गस्ती गर्न आवश्यक पर्ने पूर्वाधार र प्रविधि अनुसारका हातहतियार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । 

व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न कौवा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिनुपर्ने बताउनुभयो । छाङरुमा रहेका सुरक्षाकर्मीले गस्ती गर्न कौवा क्षेत्र निकै टाढा रहेको भन्दै उहाँले राज्यले यथाशीघ्र कौवा क्षेत्रमा बिओपी स्थापना गर्न सक्नुपर्ने बताउनुभयो । छाङरुबाट कौवा क्षेत्र १८र१९ किलोमिटरको दुरीमा पर्छ । व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर क्षेत्रमा पर्ने वन अपि नाम्पा सङ्रक्षण क्षेत्रभित्र पर्छ ।   

clock मङ्गलबार २४, भदौ २०८२ ०८:४९

प्रतिक्रिया