डिलासैनीका दलित समुदायको विज्ञप्ति : सामाजिक सद्भाव बिगार्न मन्त्री पालबारे सुनारले मिथ्या प्रचार गर्दैछन्
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालमाथि लगाइएको आरोपप्रति डिलाशैनी गाउँपालिका–३ गिरिबगर टोलका दलित समुदायले खण्डन गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा “खगेन्द्र सुनार”नामक प्रयोगकर्ताले स्वर्गीय किरण कोलीलाई मन्त्री पाले सवार गाडीले किचेर हत्या गरेको भनी पोस्ट गरेपछि समुदायले ध्यानाकर्षण गराउँदै यसलाई पूर्णतः कपोलकल्पित, निराधार, तथ्यहीन र मिथ्यापूर्ण भएको बताएका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार साउन १७ गते किरण कोली बिन्नीगाडमा बालुवा खेल्दै गर्दा विद्युतीय पोलमा झम्टिन खोज्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउन १८ गते शव आफन्तलाई बुझाइएको थियो।
सो समय मन्त्री पाले प्रदेश राजधानी धनगढीमा रहेका र उनका छोरा काठमाडौंमा रहेको कुरा समेत उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा “दलितले बाटो काटेकाले अशुभ हुने भन्दै ड्राइभरले लखेटी डुमलाई ठोक” भन्ने शैलीमा गरिएको फेसबुक पोस्ट सामाजिक सद्भाव खल्बल्याउने, निर्दोष व्यक्तिको चरित्र हत्या गर्ने, राजनीतिक पूर्वाग्रह राखी समाजलाई भड्काउने तथा दलित समुदायलाई बदनाम गर्ने नियतपूर्ण प्रयास भएको उनीहरूको आरोप छ।
समुदायले यस्ता मिथ्यापूर्ण र समाजलाई अस्थिर बनाउने खालका अभिव्यक्तिमाथि छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा स्थानीय ५२ जना दलित अगुवाहरूले हस्ताक्षर गरेका छन् । मन्त्री पालविरूद्व आफूलाई दलितका लागि दलित अभियान्ताका रूपमा चिनाउने खगेन्द्र सुनारले तारन्तार सामाजिक सञ्जालमा फेसबुकमा मन्त्रीविरूद्व भ्रामक कुरा लेखिरहेका छन् ।
प्रतिक्रिया