मन्त्री पालविरुद्धको फेसबुक पोस्ट : दलित अभियन्ता सुनारमाथि उजुरी

  शनिबार ०७, भदौ २०८२ ०७:४४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

मन्त्री पालले सामाजिक सञ्जालमार्फत कपोकल्पित तथा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गराएका हुन्।

के छ आरोप ?

अभियन्ता सुनारले सामाजिक सञ्जालमार्फत बैतडीका १३ वर्षीय किरण कोलीको मृत्यु मन्त्री पालको सवारी ठक्करका कारण भएको दाबी गरेका थिए।

तर प्रहरीका अनुसार कोली साउन १७ गते बिन्नीगाडमा बालुवा संकलन गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो। परिवारले पनि सोही दिन शव बुझेर अन्त्येष्टि गरेको तथ्य प्रहरीको रिपोर्टमा उल्लेख छ।

अनुसन्धान कहाँसम्म पुग्यो ?

प्रहरीका अनुसार उजुरीलाई आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाइएको छ।

मन्त्री पालविरुद्ध प्रचारप्रसारलाई कपोकल्पित भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी र संसदीय दलले विज्ञप्ति जारी गरेका छन्। उनीहरूले अभियन्ता सुनारविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्।

clock शनिबार ०७, भदौ २०८२ ०७:४४

प्रतिक्रिया