माओवादीले गल्ती गर्यो, एमाले त्यो गल्ती दोहोर्‍याउन  ः महासचिव पोखरेल

  सोमबार ०२, भदौ २०८२ १३:११

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताउनु भएको छ ।

नेकपा एमालेका सचिव लेखराज भट्ट निवास अत्तरीयामा आज प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्वउपराष्ट्रपति पुनको नाम लिएरै उहाँलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताउनु भएको हो । 

‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ, जो पार्टी र प्रतिस्पर्धा भन्दा माथि छ उहाँहरुको अधिकार खोसियो भन्ने भास्य चाँहि ठिक होइन,’ उहाँले भन्नु भयो, ‘स्वभाविक रुपमा माओवादी केन्द्रले गल्ती गर्यो, तर त्यो गल्तीको पछाडि एमाले जाँदैन । बरु गल्ती गरिहाल्नुभयो, सच्याउनुस् भन्छौं ।’

महासचिव पोखरेलले राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दलबीचको सहमतिअनुसार संविधान संशोधनको विषयमा प्रवेश गर्नका केही समस्या रहेको बताउनु भएको छ । 

‘संविधान संशोधनको विषयमा एउटा कारणले समयको प्रतिक्षा गरेका छौं,’ महासचिव पोखरेलले भन्नुभयो, ‘सरकारमा नरहेका दलहरु सरकारले अगाडि सारेका मुद्धामा छलफल गर्न सकारात्मक छैनन् । वातावरण त बनाउनुपर्छ, नबन्दासम्म संविधान संशोधन जस्तो मुद्धामा अगाडि बढ्न सकिन्न ।’

महासचिव पोखरेलका अनुसार राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरुको बहुमत पुग्ने सुनिश्चित नभएका कारण पनि सरकारले संविधान संशोधनको सहमतिलाई अगाडि बढाउन नसकेको हो ।

‘पाँचरछ महिनापछि राष्ट्रियसभाका १९ सिट खाली हुन्छ,’ उहाँले भन्नुभयो, ‘दुवै दल मिलेर त्यसमा सफलता प्राप्त गछौँ । अनुकुलता निर्माण गछौँ । त्यसपछि संविधान संशोधनको विषयमा व्यवस्थित रुपमा प्रवेश गछौँ । हामीले जे भनेका छौं, त्यो काम गर्नकै लागि सरकारमा पुगेको हौं ।’ 

clock सोमबार ०२, भदौ २०८२ १३:११

प्रतिक्रिया