भौतिक मन्त्री पालको एक वर्ष : सुदूरपश्चिमको भौतीक पुर्वाधारमा ठूलो फड्को

  बुधबार २१, साउन २०८२ ११:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पाललाई गत वर्षको २१ साउनमा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री पालले एक वर्षको कार्यकाल पूरा भएको अवसरमा प्रगती विवरण सार्वजनिक गरेका छन् ।उनले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै प्रदेशवासीप्रति आभार समेत व्यक्त गरेका छन्।

सार्वजनिक विवरणअनुसार सीमित स्रोत, साधन र जनशक्ति भए पनि स्थानीय तह, प्राविधिक टोली, निर्माण व्यवसायी, जनप्रतिनिधि र नागरिक समाजको सहकार्यका कारण पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।

सडक र पुल निर्माणमा ठूलो फड्को

गत आर्थिक वर्षमा १०६।२ किलोमिटर कालोपत्रे सडक, १०२.८ किलोमिटर ग्राभेल सडक र १४७.१६ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको छ। साथै, ६ वटा सडक पुल निर्माण सम्पन्न गरिएका छन्।

प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुआयोजना स्वीकृत गर्दै ७० वटा प्रदेश लोकमार्ग, ११९ वटा सहायक मार्ग र १९० वटा अन्य विशेष उद्देश्यका सडकलाई प्राथमिकतामा राखेको छ।

अछाम, बझाङ र दार्चुलाका पहिरोबाट क्षतिग्रस्त सडक खण्डको पुनस्र्थापना अध्ययन प्रतिवेदन तयार गरिएको छ भने विश्व बैंकको सहयोगमा कैलालीको चुरे गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा दुईवटा सडक निर्माणको ठेक्का कार्य सुरु भएको छ।

सिंचाइ, जलविद्युत र तटबन्धमा प्रगति

गत वर्ष नयाँ योजनाबाट १६८२.४ हेक्टर र पुराना योजनाको मर्मतबाट १३,९४७.४ हेक्टर जमिन सिंचित भएको छ। ३२ वटा डीप ट्युवेल जडान र २६.८३४ किलोमिटर तटबन्ध निर्माण गरेर ३७.५ हेक्टर जमिन संरक्षण गरिएको छ। अपर–सुर्नायागाड र नौगाड जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन पनि सम्पन्न गरिएको छ।

खानेपानी सेवामा विस्तार

८४१ इन्टेक, ४ वटा डीप ट्युवेल, ५१६ पानी पोखरी र २१३३ किलोमिटर पाइपलाइन जडान गरी ११,९३९ घरधुरीमा खानेपानी सेवा पुर्याइएको छ। यसमार्फत ८३,५८५ जनाले आधारभूत र १९,२८७ जनाले मध्यमस्तरको खानेपानी सेवा पाएका छन्। संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा सञ्चालन हुने १३ अर्ब ३८ करोड रुपैयाँ लागतको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन चरणमा पुगेको छ।

आवास, खेलकुद र भवन

जनता आवास योजनाअन्तर्गत ११० आवास निर्माण गरिएको छ। साथै, १० खेल मैदान, ३ पार्क र २ कवर्ड हल निर्माण सम्पन्न भएका छन्। ६ सरकारीरसामुदायिक भवन पनि तयार गरिएका छन्।

यातायात व्यवस्थामा सुधार

सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली (दोस्रो संशोधन) मस्यौदा स्वीकृत गरिएको छ। यातायात व्यवस्था कार्यालयमार्फत गत वर्ष १ अर्ब ७ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरिएको मन्त्रीले बताए।

मन्त्रीले आगामी आर्थिक वर्ष २०८२/०८३ मा भौतिक पूर्वाधार विकासलाई अझै प्रगतिशील र उत्साहवद्र्धक बनाउन सुझाव र सहकार्यको अपेक्षा गर्दै आम प्रदेशवासीको विश्वासप्रति सधैं उत्तरदायी रहने प्रतिबद्धता जनाएका छन्।

clock बुधबार २१, साउन २०८२ ११:२०

प्रतिक्रिया