विश्वकप छनोटमा जिम्बाब्वेसँग भिड्दै नेपाल, इतिहास रच्ने मौका

  आइतबार ०३, असार २०८० ०७:०३

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट आइतबारदेखि जिम्बाब्वेमा सुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटन खेलमा नेपाल र आयोजक जिम्बाब्वे भिड्दै छन् । 

यी दुई टिमबीचको खेल दिउँसो १२ः४५ देखि हरारे स्पोर्ट्स क्बलमा सुरु हुनेछ । यही समयमा वेस्ट इण्डिज र अमेरिकाले पनि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाल पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्न लागेको हो । नेपाल पहिलो अन्तर्राष्ट्रिय भेटमै टेस्ट मान्यता जिम्बाब्वेलाई स्तब्ध पार्दै इतिहास रच्न चाहन्छ । ओडिआई स्टाटस प्राप्तपछि नेपालले जिम्बाब्वेसँग पहिलोपटक खेल्न लागेको हो । 

नेपालले यसअघि २०१८ को विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता भने पाएन । सो खेलमा जिम्बाब्वेसँग नेपाल ११६ रनले पराजित हुन पुग्यो । यसपल्ट नेपाल पाँच वर्षअघिको हारको बदला लिन चाहन्छ । 

जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई हराएर विजयी सुरुवात गर्ने रणनीतिमा छ । हाल आइसिसी ओडिआई वरियतामा जिम्बाब्वे ११ औँ र नेपाल १४ औँ स्थानमा छ । नेपाल र जिम्बाब्वेबीचको खेलको लाइभ स्टार स्पोर्ट्सबाट हेर्न सकिनेछ ।

जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ ब्याटिङको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखलले सम्हाल्ने छन् । उनीहरूले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यस्तै, तेस्रोमा भीम सार्की, चौथोमा कप्तान रोहितकुमार पौडेल, पाँचौं स्थानमा कुशल मल्लले मौका पाउने सम्भावना उच्च छ । 

छैटौँमा दीपेन्द्र सिंह ऐरी, सातौँमा आरिफ शेख, आठौँमा सोमपाल कामी, नवौँमा करण केसी, दशौँमा सन्दीप लामिछाने र ११ औँ नम्बरमा किशोर महतोले मौका पाउन सक्छन् ।

यदि जिम्बाब्वेविरुद्ध मौका पाए उनको यो डेब्यू म्याच हुनेछ । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल, ललितनारायण राजवंशी, अर्जुन साउँद र प्रतिश जिसी प्लेइङ–११ को हिस्सा बन्ने सम्भावना कम छ । 

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

जिम्बाब्वेको टोली : रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जोंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।

clock आइतबार ०३, असार २०८० ०७:०३

प्रतिक्रिया