श्रीमतीले टेर्न छोडेपछि बुबा लालवीरलाई नाउपाको अध्यक्ष बनाउने रणनीतिमा रेशम

  बुधबार १४, साउन २०८२ १२:४१

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष लालवीर चौधरीलाई बनाउने प्रयास भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर लालवीर चौधरीलाई बनाउन लागिएको छ । रञ्जिता श्रेष्ठका श्रीमान् रेशम चौधरीकै योजनामा उक्त प्रयास भइरहेको छ । 

नाउपा नेताहरूको भनाइमा श्रीमती रञ्जितालाई हटाएर रेशमले बाबु लालवीरलाई अध्यक्ष बनाउने प्रयास गरेका हुन् । ११ साउनमा अध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई जिम्मेवारी तोकेपछि विवाद उत्कर्षतिर लागेको थियो । 

कार्यवाहकको जिम्मा पार्टीको विधानविपरीत तोकिएको नाउपाका असन्तुष्टहरूको भनाइ छ । उनीहरूले बास्तोला पार्टीको कार्यवाहक हुने योग्यता नभएका नेता भएको आरोप लगाएका छन् । पार्टीको पदाधिकारीसमेत नभएको र संस्थापक केन्द्रीय सदस्य नभएकोले कार्यवाहकका लागि योग्य नभएको नेताहरूको आरोप छ ।

श्रेष्ठले कार्यवाहकको जिम्मेवारी बास्तोलालाई दिएपछि बहुमत केन्द्रीय सदस्यले राष्ट्रिय भेला बोलाएका छन् । बुधबारका लागि बोलाएको भेलाअघि श्रेष्ठलाई प्रष्टीकरण पनि सोधेका थिए । तर, श्रेष्ठ भने आफूले गल्ती नगरेकोले प्रष्टीकरण दिन आवश्यक नभएको तर्क गर्दै आएकी छिन् । 

श्रेष्ठले साथीहरूलाई जमघट हुन नरोकिएको तर राष्ट्रिय भेला नबोलाएको दाबी गरिन् । भेला बोलाउने अधिकार अन्य कसैलाई नभएको पनि उनले तर्क गरिन् ।

clock बुधबार १४, साउन २०८२ १२:४१

प्रतिक्रिया