कर्मचारीलाई भौतिक पूर्वाधार मन्त्री पालको निर्देशन : मार्गचित्रसहित काम शुरू गर्नुस्

  मङ्गलबार १३, साउन २०८२ ०७:२२

धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेशको विकास र समृद्धिका लागि अहिलेदेखि काममा लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पालले अहिलेको भन्दा थप प्रगति र उल्लेख्य नतिजाका लागि आर्थिक वर्षको सुरूदेखि मार्गचित्र बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

गत आर्थिक वर्षमा पनि लक्ष्यअनुसारकै प्रगति भएको बताउँदै पालले मन्त्रालय र अन्तरगतका निकायका कर्मचारीलाई धन्यवाद समेत दिएका छन् ।

“विभिन्न समस्या र चुनौतीकाबीच पनि गत वर्ष तपाईं सबै कर्मचारीको प्रयासले मन्त्रालयले लक्ष्यअनुसारको प्रगति गर्न सफल भयो । त्यसका लागि सबै कर्मचारी साथीहरूलाई धन्यवाद व्यक्त गर्छु,” मन्त्री पालले भने, “समृद्ध सुदूरपश्चिम, सुखी सुदूरपश्चिमबासी अभियानलाई मूर्त रूप दिन भौतिक पूर्वाधार समेतको समग्र विकासका लागि मार्गचित्र तयार पारि अहिलेदेखि कार्यान्वयनमा लाग्नुहोस् ।”

समीक्षा कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका ३० कार्यालयका कर्मचारीको सहभागीता थियो ।

कार्यक्रममा गत वर्ष सम्पादन गरिका कामहरूको भौतिक तथा वित्तीय प्रगतिबारे प्रस्तुति गरिएको थियो भने सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र सुधार गर्ने उपायबारे छलफल भएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय भर्खरै सम्पन्न भएको आर्थिक वर्ष २०८१/८२ मा ७० प्रतिशत बजेट खर्च गरेको थियो ।

clock मङ्गलबार १३, साउन २०८२ ०७:२२

प्रतिक्रिया