नाउपाको नियमित कामबाट रञ्जिता श्रेष्ठ अलग, बास्तोलालाई दिइन् कार्यवाहक अध्यक्षको जिम्मा
कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।
‘मैले मेरो अधिकार र विधान अनुसार जिम्मेवारी दिएकी हुँ ’ उनले भनिन् । केही दिनदेखि अस्वस्थ भएको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै उनले बास्तोलालाई कार्यबहाकको जिम्मेवारी दिएको उल्लेख गरेकी छन् ।
हेर्नुहोस् पत्र ;
‘नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९४० अनुसार, पार्टीका वरिष्ठ नेता श्री शिव बास्तोला लाई कार्यवाहक अध्यक्ष को जिम्मेवारी तोकिएको छ’ उनले दिएका पत्रमा उल्लेख गरिएको छ । उनले कार्यवाहक अध्यक्षलाई आफ्नो सबै अधिकारहरू प्रत्यायोजन गरेकी छन् ।
‘तपाईँले पार्टीको विधानको अधीनमा रही अध्यक्षको रूपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्नुहुनेछ र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडि बढाउनुहुने छ भन्ने विश्वास लिएको छु’ उनले दिएको पत्रमा उल्लेख गरिएको छ ।
आजै नाउपा बहुमत केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिएको छ । आजै उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेतालाई दिइएकी छन् । यो विषयले नाउपाको शक्ति सङ्घर्ष अझै पेचिलो हुने देखिन्छ ।
प्रतिक्रिया