भीम रावलको कटाक्ष :ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू
काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावलले केपी शर्मा ओलीलाई आजीवन नेतृत्वमा रहन दिने गरि ७० वर्षे उमेर हदको सीमा हटाउने प्रस्तावप्रति व्यंग्य गरेका छन् । अध्यक्ष ओलीले पार्टीमा रहेका उमेरसम्बन्धी सीमा हटाउने प्रस्ताव बैठकमा अघि सारेपछि डा. रावलले सामाजिक सञ्जालमार्फत व्यंग्य र प्रश्न गरेका छन् ।
‘७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा बसेको अवधि पनि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ’, उनले कटाक्ष गर्दै भनेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न उहाँको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’
७० वर्षे उमेर सीमा एमालेको नेतृत्व तहमा पहुँचका लागि तोकिएको थियो। तर हाल यो सीमा हटाउने विषयमा छलफल चलिरहेका बेला रावल ओलीमाथि व्यंग्य गरेका हुन् ।
एमालेमा रहँदा पनि डा. रावल ओलीका कडा आलोचक थिए । उनले लगातार नेतृत्वमा व्यक्तिकेन्द्रित प्रवृत्ति र विधि पद्धति बिर्सिएको बताउँदै आएका थिए । त्यहीकारण उनी २०८१ पुस १० देखि एमालेबाट निकालिएका छन् ।
पार्टीको ११ औँ महाधिवेशनमा पनि उठ्ने गरी ओलीले ७० वर्षे र २ कार्यकालको व्यवस्था हटाउने निर्णय अघि बढाएका छन् । त्यसप्रति बढ्दो असन्तोषले एमालेभित्र बहस र विवाद बढेको छ ।
प्रतिक्रिया