चेतनको हत्या आरोपितलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघले समातेर प्रहरीलाई बुझायो

  बिहिबार ३२, जेठ २०८० २१:३६

धनगढी । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न एक जनालाई आज धनगढीबाट पक्राउ गरिएको छ ।

उक्त घटनाका मुख्य आरोपी रन सिंह ऐडीलाई धनगढी बसपार्क पछाडिको एक घरबाट अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले पक्राउ गरेका हुन् ।

प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी प्रहरीलाई नै बुझाइएको उनीहरूले जनाएका छन् । घटनापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका-७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् ।

धनगढी बसपार्कबाट ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले पुष्टि गरे । उनलाई कार्यालय ल्याउँदै गरिएको समेत साउदले बताए ।

clock बिहिबार ३२, जेठ २०८० २१:३६

प्रतिक्रिया