नेपाली कांग्रेसको कैलालीबाट को को परे कारबाहीमा ?

  बिहिबार २६, असार २०८२ ११:३०

धनगढी । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता, कार्यकर्तालाई कारबाही गरेको छ । 

आमनिर्वाचन सकिएको साढे तीन वर्षपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको अभियोगमा काँग्रेसले डेढ दर्जन नेता, कार्यकर्तामाथि कारबाही गरेको हो । कारबाहीमा पर्नेमा प्रदेश समितिका महामन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन् ।

केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले गरेका निर्णय निर्णय बुधबार सार्वजनिक गरिएको छ । अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीका उम्मेदवारलाई हराउन सामाजिक सञ्जाल, अडियो–भिडियोलगायत प्रमाणलाई आधार मानेर संलग्न नेता, कार्यकर्तालाई निष्कासन÷निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कैलालीमा छ जना नेता, कार्यकर्तालाई काँगे्रसले पार्टीबाट निस्कासन गरेको छ । 

धनगढी उपमहानगरपालिका–२, का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्ण कुँवर, धनगढी–१, का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी–२, का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह पार्टीको कारबाहीमा परेका छन् ।

त्यस्तै काँग्रेसका क्रियाशील सदस्य लेखराज ओझा, धनगढी–१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी–५, का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई काँग्रेसले निस्कासन गरेको छ । उनीहरुलाई छ महिनाको लागि पार्टीबाट निस्कासन गरिएको जनाइएको छ ।

clock बिहिबार २६, असार २०८२ ११:३०

प्रतिक्रिया