सुदूरपश्चिम प्रदेशमा अझै बनेन विपत् प्रतिकार्य योजना
धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुनजन्य विपत् सुरु भए पनि प्रदेश विपत् प्रतिकार्य योजना भने अझै बन्न सकेको छैन । आन्तरिक मामिला मन्त्रालयले विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ गरेको हो । यस प्रदेशमा मनसुनजन्य विपत् सुरु भइसकेको छ । सोमबार मात्रै भीषण वर्षा हुँदा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको विभिन्न पालिका जलमग्न भएका थिए ।
मनसुनजन्य विपत्बाट जनताको जिउधनको रक्षा र आइपर्ने समस्या समाधानका लागि हरेक वर्ष प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक गर्नु पर्दछ । यस वर्षका लागि विपत् प्रतिकार्य योजनाको सम्पूर्ण तयारीको काम पूरा भए पनि मन्त्रालयमा सचिव नहुँदा स्वीकृत गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो ।
उहाँका अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजनाको सम्पूर्ण काम पूरा गरिसकेको छ तर मन्त्रालयका सचिव बिरामी भई बिदामा बस्नु भएकाले कार्यकारी समितिमा पेस हुन सकेको छैन । “सचिवज्यू कामकाजमा फर्केलगत्तै हामीले यसलाई अगाडि बढाउँछौँ,” विष्टले भन्नुभयो, “अर्को हप्तासम्म प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक हुन्छ ।”
तराई, पहाडी र हिमाली भूबनोट रहेको सुदूरपश्चिमले बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । यस प्रदेशको पहाडी क्षेत्रमा पहिरो, बाढी र तराईमा मुख्य गरी बाढी, डुबानबाट अत्यधिक मान्छे प्रभावित हुँदै आएका छन् ।
सरदरभन्दा बढी वर्षाको सम्भावनासमेत रहेको सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । यस वर्ष मनसुनजन्य विपत्बाट ५२ हजार ११२ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको विष्टले बताउनुभयो ।
यसैबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपत्को समयमा उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । उहाँले उद्धार, राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई यसअघि नै निर्देशन दिइसक्नभएको छ ।
डुबानपछि सर्पको बिगबिगी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डुबानपछि सर्पको बिगबिगी बढेको छ । कुलानाला, तालतलैयामा पानी भरिएपछि गोमन, करेतलगायतका विषालु सर्प मान्छेको घरदैलोमा सलबलाउन थालेका छन् ।
डुबानपछि सर्प घरमा पस्न थालेको स्थानीय दीपेन्द्रबहादुर चौधरीले बताउनुभयो । उहाँले आफ्नो छिमेकीको घरमा पनि गोमन सर्प पसेको जनाउँदै बेलैमा नगर प्रहरीको सर्प उद्धार टोलीलाई बोलाएर सर्पलाई नगर प्रहरीको जिम्मा लगाएको जानकारी दिनुभयो ।
धनगढीमा सर्प सलबलाउन थालेपछि धनगढी उपमहानगरपालिकाको सर्प उद्धार गर्ने नगर प्रहरी टोलीको व्यस्तता बढेको छ । चौबिसै घण्टा सर्प उद्धारका लागि फोन आइरहेको नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीले बताउनुभयो । बुधबार एकै दिन मात्रै धनगढीको १८ घरबाट सर्पको उद्धार गरेर सुरक्षित स्थानमा छोडेको धामीले बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले तालिम लिएर विगत दुई वर्षदेखि सर्प उद्धारको कार्य गर्दै आएको छ । सर्प उद्धारका लागि नगर प्रहरीको तीन वटा टोली परिचालन हुँदै आएको धामीले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रका स्थानीयको घरबाट असार १९ गतेसम्म दुई हजार ४० सर्पको उद्धार गरेको छ ।
प्रतिक्रिया