बाजुराको बुढीगंगा नगरपालिका अब ‘बार्जु नगरपालिका’ बन्ने
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका अबदेखि ‘बार्जु नगरपालिका’ का रूपमा चिनिने भएको छ । नगरपालिकाको १२ औँ नगर सभाले सर्वसम्मत निर्णय गर्दै नयाँ नामकरण प्रस्ताव पारित गरेको हो ।
यससँगै यो नगरपालिका ऐतिहासिक नामले पुनः परिचित हुने भएको छ । स्थानीय बुढीगंगा नदीको नामबाट राखिएको पुरानो नाम हटाउनुको पछाडि प्रशासनिक झन्झटदेखि ऐतिहासिक सन्दर्भसम्मका विभिन्न कारणहरू रहेका छन् ।
‘बार्जु’ नाम केवल नयाँ पहिचान नभई बाजुराको इतिहाससँग गाँसिएको शब्द हो । नगर प्रमुख राम बहादुर बानियाँका अनुसार, बाइसे–चौबिसे राज्यकालमा ‘बार्जु’ एक समृद्ध र शक्तिशाली राज्यको केन्द्र थियो । किंवदन्तीअनुसार अहिलेको ‘बाजुरा’ भन्ने नाम पनि ‘बार्जु’ शब्दबाट अपभ्रंश भएर आएको हो ।
यही ऐतिहासिक सन्दर्भलाई सम्मान गर्दै ‘बार्जु’ नाम पुनःस्थापित गरिएको उनले बताए । नगर प्रमुख बानियाँले भने, ‘हाम्रो ऐतिहासिक चिनारी, जुन बार्जु सभ्यता हो, त्यसैलाई टेकेर नाम राख्ने निर्णय गरेका हौं । यो हाम्रो सभ्यता र इतिहासप्रतिको सम्मान पनि हो ।’
नगरपालिकाले अब उक्त निर्णय प्रदेश सभामा पठाउनेछ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि यो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान्छ । अन्ततः नेपाल सरकारको मन्त्रिपरिषद्को स्वीकृति पछि मात्र ‘बार्जु नगरपालिका’ आधिकारिक रूपमा मान्यता प्राप्त गर्नेछ ।
प्रतिक्रिया