चार प्रदेशमा बर्षाको संभावना, मध्य तथा पश्चिम तराईमा गर्मी यथावत

  बुधबार ३१, जेठ २०८० ०७:२६

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

clock बुधबार ३१, जेठ २०८० ०७:२६

प्रतिक्रिया