कैलाली कारागारभित्रै रक्सी पार्टी, दुई समूह बिच कुटाकुट

  बुधबार ३१, जेठ २०८० ०७:१९

धनगढी । कैलालीस्थित जिल्ला कारागारमा कुटाकुट भएको छ। जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबिच कुटाकुट भएको हो।

कारागार स्रोतका अनुसार लम्कीका भूपेन्द्र बडूवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ।

कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालले २२ गते कुटाकुट भएको बताउँदै त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको बताए। उनका अनुसार त्यस दिन कारागार प्रहरीका हाकिम सई चरन बुढाथापा भने बिदामा थिए। अहिले बुढा जिप्रका कैलालीमा सरुवा भैसकेका छन्।

उनको सरुवा भएपछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका असई बोहराको पनि जिप्रका सरुवा भएको कुमालले बताए। उनले आफू २३ गतेको बेलुका मात्र जिप्रकाबाट सरुवा भएर कारागारमा आएको बताए। घटनाका बखत आफू जिप्रका कैलालीमै कार्यरत रहेको उनको दाबी छ।

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए। सो काण्डपछि आईतबारमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ। उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो। तर भूपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन्। उनीहरूले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको बताइन्छ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सिडिओ युवराज कट्टेलले भने २२ गते त्यस्तो घटना भएको र त्यहीँ बेला त्यहाँको चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको बताए। यस्तै सुरक्षाको टिम पनि पुरै फेरिएको उनले बताए। जेलमा अस्वाभाविक स्वभाव देखिए ठेगान लगाइने उनको दाबी छ।

सो दिन कुटपिट भएको नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरूले खाने क्रममा विवाद भई धकेलाधकेल मात्र भएको उनको भनाई छ। उनका अनुसार सो घटनाका बेला जेलर पदमराज तिमिल्सिना र प्रहरी प्रमुख सई चरन बुढाथापा पनि बिदामा थिए। जेलर भर्खरै आएकाले सरुवा गर्न नमिलेको र सुरक्षाको टिम मात्र फेरिएको उनले जनाए।

कैलाली कारागारका जेलर तिमिल्सिना भने सोमबार बिहान ट्रेनिङको लागि भन्दै राजधानी काठमाडौँ उडेको बताइएको छ। 

clock बुधबार ३१, जेठ २०८० ०७:१९

प्रतिक्रिया