रोटरी क्लब धनगढीले गोदावरीमा निर्माण गरेको खानेपानी योजना हस्तान्तरण

  मङ्गलबार ३०, जेठ २०८० १५:५२

धनगढी । रोटरी क्लब धनगढीले गोदावरी नगरपालिका वडा नम्बर ११ मा निर्माण गरेको खानेपानी योजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ। रोटरी क्लब धनगढीले मङ्गलवार गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई एक कार्यक्रमका बिच खानेपानी हस्तान्तरण गरेको हो। गोदावरी नगरपालिकका प्रमुख बिरेन्द्र भट्टले खानीपानी टंकीको उद्घाटन र हस्तान्तरण गरेका हुन्।

रोटरी क्लब धनगढीले ग्लोबल ग्रान्ट नम्बर १८६०१५३ अनुसार खानेपानीको समस्या भोग्दै आएको गोदावरी ११ र १२ का लागि २ लाख २५ हजार लिटर क्षमताको खानीपानी टंकी निर्माण गरेको हो। खानेपानी आयोजनाबाट दुई वडाका एक हजार ११२ घरधुरी लाभान्वित हुनेछन्। खानेपानी योजनाले ९ सय धारा जडान गरिसकेको छ।

रोटरी क्लब धनगढीका अध्यक्ष ठेकेन्द्र जोशीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले २०२३ मा बसेको ओलानी क्षेत्रको बस्तीमा अहिलेसम्म खोलाको पानी पिउनु परेको सुनाए। उनले पानीका मुल सुक्दै गएकाले नहर र कुलोको पानी पिउने अवस्था अब भने अन्त्य भएको बताउँदै रोटरी क्लबलाई धन्यवाद दिएका थिए।

‘ओलानी क्षेत्रका जनताले बर्सादमा धमिलो पानी पिउनु पर्ने बाध्यता थियो। पानीको बिकल्प खोज्ने क्रममा रोटरीसँग भेट भयो र अहिले पानीको समस्या समाधान भयो। हामी धेरै खुसी भएका छौँ,’ अध्यक्ष विकले भने। अशुद्ध पानीको कारण पानीजन्य रोगबाट पीडित हुनुपर्ने अवस्था थियो। अब त्यो समस्या समाधान भएकोमा उनले रोटरी क्लबलाई सदैव सम्झना गरिने बताए।

कार्यक्रममा रोटरी क्लब धनगढीका मुख्य डोनर ओमप्रकाश अग्रवाल, श्याम तायल र हरिशंकर ठाकुरलाई सम्मान गरिएको छ। त्यस्तै, खानेपानी योजना सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ। कार्यक्रममा उद्योगी तथा समाजसेवी  ओमप्रकाश अग्रवालले जल नै जीवन भएकाले खानेपानी विस्तारका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले ओलानीको खानेपानी उपभोक्ता समितिलाई जेनेरेटर खरिदमा पनि सहयोग गर्ने बताए।

नगरप्रमुख भट्टले रोटरी क्लब धनगढीको सहयोगमा ठुलो काम भएको भन्दै आभार व्यक्त गरेका छन्। रोटरीको सहयोगले दुई वडामा खानेपानीको समस्या टरेको नगरप्रमुख भट्टले बताए। खानेपानीमा आगामी दिनमा आइपर्ने समस्या टार्न नगरपालिका उपभोक्ता समितिको साथमा रहने भट्टले बताए। रोटरी क्लब धनगढीका अध्यक्ष ठेकेन्द्र जोशीले रोटरीले ठुलो योजना सम्पन्न गरेको बताए।

ओम अग्रवाल, श्याम तायल र हरिशंकर ठाकुर जस्ता मुख्य दाताहरू रोटरीको अभियानमा जोडिएपछि खानेपानीको योजना सम्पन्न गर्न सकिएको जोशीले बताए। उनले स्थानीय समुदायलाई  पानीको सदुपयोग गर्न आग्रह गरेका छन्। रोटरी क्लब धनगढीले समुदायसँगको सहकार्यमा एक करोड ५० लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जनाएको छ। योजना सम्पन्न गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढी, गोदावरी नगरपालिका, फाया नेपाल अन्तर्गत  तयारी परियोजना, सरस्वती माध्यमिक विद्यालय तथा गोदावरी नगरपालिका ११ र १२ को सहयोग रहेको छ।

clock मङ्गलबार ३०, जेठ २०८० १५:५२

प्रतिक्रिया