रोयल च्यालेन्जर्स बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । १८ वर्षको प्रतिक्षा अन्त्य गरेर मंगलबार भएको फाइनलमा पञ्जाव किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले ऐतिहासिक जित हात पारेको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । शशांकले ३० बलमा अविजित ६१ रन बनाएका थिए भने जोश इङ्लिसले ३९ रन जोडे।
बेंगलुरुका लागि भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २/२ विकेट लिए। यस्तै, जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १/१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन जोडे।
पञ्जाबका अर्शदीप सिंहले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। काइल जेमिसनले पनि ३ विकेट हात पारेका थिए। अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १/१ विकेट लिए।
यसअघि बेंगलुरुले सन् २००९, २०११ र २०१६ मा आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन।
प्रतिक्रिया