नेपाल–भारत सीमा समन्वय बैठक खक्रौलामा सम्पन्न, यस्ता छन् दुबै देश बिच भएका समझदारी
धनगढी । भारतको लखिमपुर खिरीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा समन्वय बैठक सम्पन्न भएको छ ।
भारततर्फको खक्रौला क्याम्पमा शुक्रबार भारत र नेपालबीच नियमित मासिक सीमा समन्वय बैठक सम्पन्न भएको कैलाली प्रहरीले जनाएको छ।
भारत(नेपाल समन्वय बैठक नाम दिइएको उक्त बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसपी) तेस्रो बटालियनले आयोजनामा गरेको थियो ।
बैठकमा दुवै देशका सुरक्षा निकायबीच सीमा सुरक्षालाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ । बैठकमा भारतीय पक्षबाट एसएसबी तेस्रो बटालियनका कमाण्डेन्ट देवानन्द नेतृत्वमा टोली सहभागी थियो।
नेपाली पक्षबाट जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित, इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकी लगायतका १० जनाको टोली सहभागी भएको थियो ।
बैठकमा सीमामा हुने लागूऔषध तस्करी नियन्त्रण, आपराधिक गतिविधिको सूचनाको आदानप्रदान, मानव बेचबिखन रोकथाम, सीमा स्तम्भको अनुगमन तथा नक्कली नोट कारोबार नियन्त्रण लगायतका विषयमा दुई पक्षबीच छलफल भएको थियो।
बैठकले गरेको ६ बुँदे सहमति यस्तो छ
- लागूऔषध नियन्त्रणमा समन्वय – सीमा क्षेत्र हुँदै हुने लागूऔषध तस्करी नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्दै संयुक्त रुपमा निगरानी गर्ने।
- आपराधिक घटनामा सूचना साझेदारी– सीमामा हुने आपराधिक घटनाको छिटो सूचना आदानप्रदान गर्दै अनुसन्धानमा आपसी सहकार्य।
- मानव बेचबिखन नियन्त्रण तथा उद्दार – सीमा नाकाबाट हुने मानव तस्करी रोक्न सहकार्य गर्ने र पीडितको उद्दार तथा व्यवस्थापनमा समन्वय।
- सीमा स्तम्भको अनुगमन– सीमा स्तम्भहरू अनुगमन गर्ने र अतिक्रमण भएका स्थानमा दशगजा क्षेत्र कायम गर्न आवश्यक पहल गर्ने।
- नक्कली नोट कारोबार नियन्त्रण – नक्कली नोट कारोबारमा समन्वय गर्दै नियन्त्रण र अनुसन्धानका लागि सहकार्य गर्ने।
- नियमित समन्वयमार्फत अपराध नियन्त्रण– सीमामा हुन सक्ने अपराधहरू न्युनिकरण तथा अनुसन्धानमा दुवै देशका निकायबीच नियमित समन्वय गर्ने।
बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा यस्ता समन्वय बैठकलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।
सीमा सुरक्षालाई मजबुत पार्दै आपसी विश्वास बढाउने यस्ता बैठकले नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया