धनगढीको खुटियाटोलमा चार विद्यार्थीका लागि तीन शिक्षक
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४ को खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका छन् ।
बालविकासदेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा कक्षा १ मा दुई जना र कक्षा ३ मा पनि दुई जना मात्र छात्र भर्ना भएको विद्यालयमा प्रधानाध्यापक रासबहादुर बुढाले बताए ।
बाँकी कक्षामा भने विद्यार्थी भर्नादर शून्य रहेको प्रधानाध्यापक बुढाले बताए । गत चैत महिनादेखि शिक्षक आन्दोलनका कारण अब विद्यालय खुल्दैनन् भन्ने गाँउमा हल्ला चलेका कारण विद्यार्थी भर्ना हुन नआएको प्रधानाध्यापक बुढाले बताए ।
उनले भने, “विद्यार्थी भर्ना गर्ने बेला शिक्षक आन्दोलन भयो, लामो समय विद्यालय बन्द भए, सबै विद्यार्थी निजी विद्यालयमा भर्ना हुन गए । अब स्थानीय सरकारले जस्तो निर्णय गर्छ त्यही मान्न तयार छौँ ।”
तीन जना शिक्षक र कर्मचारी रहेको सो विद्यालयमा गत शैक्षिक सत्रमा जम्मा १९ जना मात्र विद्यार्थी भर्ना भएका थिए । विद्यालयमा खानेपानी, शौचालय र विद्यालय भवन र खेल्ने चौर पर्याप्त मात्रामा भए पनि विद्यालयमा विद्यार्थी नहुँदा विद्यालय सुनसान भएको छ ।
विद्यार्थीको सङ्ख्या न्यून रहेको गुनासो आएपछि धनगढी–१४ का वडाध्यक्ष मानबहादुर विष्टले विद्यालयको अनुगमन गरेका छन् । अनुगमनपछि वडाध्यक्ष विष्टले सो विद्यालय समायोजन गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा उपमहानगरपालिकामा छलफल गर्ने बताए ।
प्रतिक्रिया