बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन स्थानीयवासीलाई हम्मे–हम्मे परेको हो ।
स्थानीयवासी जस बहादुर विकका अनुसार करिब एक महिनादेखि पानीको आपूर्ति अत्यन्तै न्यून भएको छ । “हरेक वर्ष चैतदेखि जेठसम्म पानीको समस्या भइरहन्छ, तर समाधान भने कहिल्यै हुन्न ।” विकले गुनासो गर्नुभयो ।
सदरमुकाममा रहेको मार्तडी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाको समन्वय कमजोर भएकाले समस्या दोहोरिरहेकामा स्थानीय आक्रोशित छन् ।
यता बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले भने समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालयसँग सहकार्य गर्दै प्राविधिक जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । “यसै आर्थिक वर्षभित्र बजार क्षेत्रमा शुद्ध पानी पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको छ,” उहाँले बताउनुभयो ।
मार्तडी बृहत खानेपानी कार्यालयका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार हाल ६ सय घरधुरीमा रहेका धारामा दिनको एकपटक मात्र एक घण्टा पानी प्रवाह गर्न सकिएको छ । तर आगामी महिनाभित्र डोटी डिभिजन खानेपानी कार्यालयको ५० लाख रुपियाँको सहयोगमा झाल्ले नौलाबनबाट पानी आपूर्ति गर्ने योजना अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
रावलका अनुसार करिब साढे दुई किलोमिटर पाइपलाइन खनिएको छ भने आधुनिक मिटर प्रणालीमार्फत नियमित पानी वितरणको तयारी भइरहेको छ ।
तर अहिले पनि बजार क्षेत्रका भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायतका स्थानीयवासी टिन, जर्किन र गाग्रीमा पानी बोकेर टाढाटाढाबाट ल्याउन बाध्य छन् ।
प्रतिक्रिया