डेढ महिनादेखि थन्कियो डोटीको खातीवडा स्वास्थ्य चौकीको एम्बुलेन्स

  बुधबार ३१, बैशाख २०८२ १५:३३

डोटी । दिपायल सिलगढी नगरपालिका २ अन्तर्गत खातीवडा स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स डेढ महिनादेखि थन्किएको छ । व्यवस्थापनमा लापर्बाही र वडा कार्यालयको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीयको अरोप छ । 

सुप्रप ०१–००१ झ ५३७ नम्बरको एम्बुलेन्स सुजङ अस्पताल राजपुरमा करिब डेढ महिनायता थन्किएको हो । वडामा रहेको एम्बुलेन्स सेवा बन्द हुँदा गम्भीर विरामीलाई अस्पताल लैजान सार्वजनिक तथा निजी सवारी साधन भाडामा लिनु परेको स्थानीयको गुनासो छ ।

दिपायल सिलगढी–२ वडाध्यक्ष राजेन्द्र खड्काले टायर सकिएका कारण देखाए एम्बुलेन्स थन्किएको बताए । उनले भने,‘हाकिम बिदामा हुनुहुन्छ आएपछि नयाँ टायर हालेर सञ्चालनमा ल्याउँछौं ।’ कार्यालयमा बिग्रेर राखिएको एम्बुलेन्सको मर्मत गर्नतर्फ कसैको चासो छैन । बरु नयाा एम्बुलेन्स खरिदको प्रक्रियामा जनप्रतिनिधि र कर्मचारी जुटेका छन् । 

यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज गैरे कार्यालयबाट बिदामा गएको ३र४ दिन मात्रै भएको एक कर्मचारीले बताए । यसबारेमा नगर प्रमुख बाजीसिंह खड्काले वडाको स्वामित्वमा सञ्चालित एम्बुलेन्स भएकाले आफूलाई कुनै जानकारी नभएको बताए ।

एम्बुलेन्स सञ्चालनका लागि कोष नबनाउँदा मर्मतका लागि बजेट जोहो गर्न नसकिएको र अब छिट्टै मर्मत गरेर एम्बुलेन्स सञ्चालनमा ल्याइने वडाध्यक्ष खड्काले बताए ।

clock बुधबार ३१, बैशाख २०८२ १५:३३

प्रतिक्रिया