राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
धनगढी । कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ । आज भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो । विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो भएको राना थारु आदर्श युवा क्लबले७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । हिजो भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।
खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भर पनि डोटीका विनीत राना भएका थिए । वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरी भएका थिए । त्यस्तै वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी हुँदा वेस्ट पिलियर डोटीका सुरेश मल्ल भए । उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते उद्घाटन गरेको भलिबल प्रतियोगिताको आज समापन भएको हो । समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडी थिए । समापन समारोहमा उनले नेकपा एमालेको नेतृत्वको सरकारले खेलकुदमा प्रतिफल आउने गरि लगानी गरिरहेको बताएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सृजनशील काम गरेको भन्दै अध्यक्ष अरुण कुवरसहितको टिमलाई उनले धन्यवाद दिए । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, पूर्व अध्यक्ष बचनबहादुर सिंह र स्थायी कमिटी सदस्य समेत रहेका सुदूरपश्चिम सह इन्चार्ज गणेश थापाले पनि भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमले खेलकुदलाई प्रवर्द्धन गरिरहेको बताए । उनीहरुले केपी ओली नेतृत्वको सरकारले अहिले जनतालाई आसा जगाउने काम गरिरहेको बताएका थिए ।
पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल प्रतियोगिता आयोजना गरेको प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले बताए । उनले आगामी दिनमा पनि आफूहरूले खेलकुदसहित अन्य विभिन्न माध्यमबाट युवाहरूमा पलाइरहेको निराशा अन्त्य गर्ने र लागू पदार्थ दुर्व्यसनी रोक्न गतिविधि गर्ने बताएका थिए ।
प्रतिक्रिया