आजदेखि नयाँ वर्ष २०८२ सुरु, सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइदैं
धनगढी । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा भने नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ ।
हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।
बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ ।
वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ ।
देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । आज यहाँ बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ ।
प्रतिक्रिया