बैतडीको चमेलिया नदीमा ‘रबर बोट’ को परीक्षण

  शुक्रबार १०, चैत २०७९ १२:३१

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-६ शेरास्थित चमेलिया नदीमा ‘रबर बोट’ को परीक्षण गरिएको छ । बाढी जन्य विपदमा उद्धारका लागि पहिलो पटक उपलब्ध भएको ‘रबर बोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो ।

तटीय क्षेत्रमा हुने विपदजन्य घटनाहरुको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रम अन्तर्गत मानवीय सहायता स्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालय बैतडीलाई गत फागुनमा ‘रबर बोट’ प्राप्त भएको थियो ।

बाढीजन्य तथा अन्य विपदले पौडी खेल्न नजानेर डुबेर हुने घटनाहरुमा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । रबर बोट परीक्षण गरेर आगामी दिनमा हुने तटीय क्षेत्रमा हुने विपदजन्य घटनामा उद्धारका लागि सहयोग पुर्याउने उद्देश्यले अभ्यास गरिएको हो ।

प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो । अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय वासीन्दा लगायतको उपस्थिति रहेको थियो ।

यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबर बोट परीक्षण पश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ । झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिने भएको छ। त्यसपछि उक्त गोताखोरको टोलीनै विपदको समयमा उद्धारमा खटिने भएको छ।

रबर बोटको अभावका कारण नदीमा फसेका मानिसहरुको उद्धार गर्न यो भन्दा पहिला निकै कठिन हुने गरेको थियो ।महाकाली र चमेलिया जस्ता ठूला नदीहरुमा विभिन्न घटनाहरु हुने गरेका छन् । तर ‘रबर बोट’ को अभावमा नदी र खोलामा फसेकाहरुको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबर बोट’ ले सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले विपदजन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद खोज तथा उद्धार सामग्रीहरुको मर्मत गरेर चुस्त(दुरुस्त राख्न आग्रह समेत गरेको छ । साथै विपद पूर्वतयारी र प्रतिकार्य योजना समेत बनाइएको छ ।

clock शुक्रबार १०, चैत २०७९ १२:३१

प्रतिक्रिया