जयगढ बजार आगलागी : गाउँपालिकाले ६ लाख सहयोग गर्ने
अछाम । ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएका छन् । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको राहतको लागि पीडितलाई ६ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष टेकबहादुर साउँदले जानकारी दिनुभयो ।
पीडित परिवारलाई अस्थायी रुपमा खाद्यन्न र आवासका लागि उक्त रकम दिने निर्णय भएको बताइएको छ । उता सुदूरपश्चिम प्रदेश सरकारले जयगढमा भएको आगलागीबाट पीडित परिवारलाई ५० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।
आगलागी पीडितको राहतका लागि नेपाली काँग्रेस अछामले एकलाख रकम सहयोग गर्ने घोषणा गरेको जिल्ला सहसचिव दिनेशकुमार स्वारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।
आगलागी भएको स्थानमा अछाम–२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, सुरक्षा, नेपाल रेडक्रसलगायत निकायहरु स्थलगत जानकारी लिनुभएको छ । यस्तै बुधबार आजै केही बेरमै गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर थप निर्णय लिइने बताइएको छ ।
पीडित परिवारको राहत तथा अन्य व्यवस्थापनका लागि संघीय, प्रदेश, जिल्ला र अन्य निकायसँग आवश्यक सहयोग गर्न उपाध्यक्ष बिन्दु रावलले अनुरोध गर्नुभएको छ । जयगढ बजारमा हिजो बेलुका करिब साढे ७ बजेबाट आगलागी हुँदा २७ घर जलेर ७ करोडभन्दा बढीको क्षति भएको आङ्कलन गरिएको छ ।
प्रतिक्रिया