बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक महिला घाइते
बैतडी । बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ मटेलाकी ३९ वर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको हो।
स्थानीय जंगलमा बाख्रा चराउन गएकी साउँदलाई मगलवार दिउँसो १ बजेतिर चितुवाले आक्रमण गरेको स्थानीय दशरथ चाडले बताए चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको उनले बताए।
विन्दरासंगै रहेका अरू गोठलाहरूले होहल्ला गरेपछि चितुवा भागेको थियो। चितुवाको आक्रमणबाट घाइते भएकी विन्दराको टाउको, मुख र गर्धनमा चोट रहेको चाडले बताए। उनलाई उपचारका लागि भारतको लुवाघाट लगिएको छ।
चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। तल्लोसोराड क्षेत्रमा २०६८ सालयता चितुवाले बेलाबेलामा मानिसमाथि आक्रमण गर्दै आएको छ।
प्रतिक्रिया