कैलालीको गोदावरीका नगर प्रमुख भट्टको संरक्षणमा नदीको अवैध दोहन

  सोमबार २५, चैत २०८१ १४:०३

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको संरक्षणमा नै नदीको अवैध दोहन हुँदै आएको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिकाको खैराना खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको क्षेत्रमासमेत दोहन हुँदै आएको हो।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको संरक्षणमा नेपाली काँग्रेस निकटका युवाहरूले नदीको अवैध दोहन गर्दै आएका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोलीले आइतवार अवैध दोहन गर्ने तीन वटा सवारी नियन्त्रणमा लिएको छ। 

प्रमुख जिल्ला अधिकारी हमालको सुरक्षा समूहले सुदूरपश्चिम प्रदेश १–००१ क १७६२ र सुदूरपश्चिम प्रदेश १–००१ क २१४९ नम्बरका डोजर तथा सुदूरपश्चिम प्रदेश १–००१ क १७१८ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो। 

इलाका प्रहरी कार्यालय, मालाखेती परिसरमा तीन वटा सवारी राखिएको छ। नगरपालिकाले कारबाही गरेको बिल र पत्र दिएपछि प्रहरीले अवैध दोहन गर्ने सवारीहरू धनीलाई फिर्ता दिने बताएको छ। तर, सोमवार दिउँसोसम्म सवारीहरू प्रहरीको नियन्त्रणमा छन्।

यता, गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले अवैध दोहन गर्ने सवारीहरू प्रहरीले नियन्त्रणमा लिएको विषयमा जानकारी नभएको बताएका छन्। उनले नेपाली काँग्रेस निकटका चिरञ्जीवी भट्टले खैराना खोलाबाट नदीजन्य पदार्थ सङ्कलन, बिक्री र वितरण गर्दै आएको बताए। 

उनले भने, ‘खैरानामा ठेक्का राम्रा केटाहरूको हो। गाडी नियन्त्रणमा लिएको विषयमा जानकारी छैन। चिरञ्जीवी भट्टको ठेक्का हो। गाडी कस्को हो, जानकारी भएन। कानुन विपरीत काम भएर, नियन्त्रणमा लिएको होला। हामीले कानुन विपरीत काम नगर्नुस् भनेका हौ।’

clock सोमबार २५, चैत २०८१ १४:०३

प्रतिक्रिया