डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ । वन क्षेत्रलाई डढेलोबाट जोगाउनका लागि विभिन्न प्रयास भइरहे पनि मानवीय लापर्बाहीका कारण निकुञ्जको केही क्षेत्रमा आगलागी भएको हो । निकुञ्जको कोर क्षेत्र रानीताल, बरकौला, गोबरियालगायतमा डढेलोबाट वन क्षेत्रमा नोक्सान भएको छ । सो क्षेत्रमा एक हप्ताअगाडि लागेको डढेलो अहिले भने नियन्त्रणमा आइसकेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
निकुञ्ज आसपास रहेका किसानले गहुँ काटेर खेतमा आगो लगाउँदा निकुञ्जमा पनि डढेलो पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले बताउनुभयो । उहाँले डढेलोबाट भुइँ क्षेत्रमा रहेका घाँस, वनस्पति, पातपतिङ्गर जलेर नष्ट भएको जानकारी दिनुभयो । “अब डढेलो नियन्त्रणमा आइसकेको छ,” प्रमुख साहले भन्नुभयो, “त्यो ग्राउन्ड फायर थियो । त्यति धेरै क्षति भएको छैन ।”
यो वर्ष अहिलेसम्म पानी परेको छैन । पानी नपर्दा सुक्खा अझ बढेकाले विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ । निकुञ्जमा डढेलो लाग्ने निभाउने क्रम जारी रहेको जनाइएको छ । डढेलो नियन्त्रणका लागि नेपाली सेनासहितको डढेलो नियन्त्रण टोली बनाइएको छ । डढेलो लाग्नेबित्तिकै निभाउनका लागि टोली परिचालन हुने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेको भनाइ छ ।
उहाँले निकुञ्ज क्षेत्रमा सानो सानो डढेलो अझै लागिरहेको र डढेलो नियन्त्रण टिमले निभाउने कार्य गरिरहेको उल्लेख गर्नुभयो । “कोर एरियामा लागेको ठुलो डढेलो नियन्त्रण गर्न चुनौती छ,” वाग्लेले भन्नुभयो, “तर सानोतिनो डढेलोलाई डढेलो नियन्त्रण टिमले निभाउने काम गरिरहेको छ ।” पानी नपर्दासम्म पातपतिङ्गर अझ सुक्ने गरेकाले वनक्षेत्रमा चाँडै डढेलो सल्कने गर्दछ । पानी परेपछि आगलागीको घटनामा कमी आउने निकुञ्ज अधिकारीको भनाइ छ । सुक्खासँगै यतिबेला प्रदेशको विभिन्न जिल्लास्थित वनक्षेत्रमा आगलागी भइरहेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपत् पोर्टलका अनुसार एक वर्षको अवधि (२०२४ अप्रिल ५ देखि २०२५ अप्रिल ५ सम्म) मा सुदूरपश्चिम प्रदेशको ९५८ ठाउँमा डढेलो लागेको थियो । मान्छेले जानी जानी आगो लगाउने, सल्केको चुरोट जथाभाबी फाल्नेलगायतका कारणले वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । यसै गरी भिरालो ठाउँबाट खसेको ढुङ्गा अर्को ढुङ्गामा ठोक्किँदा पनि डढेलो लाग्ने गरेको जनाइएको छ । यद्यपि, प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले वन क्षेत्रमा डढेलो लाग्ने गरेको वनकर्मीको भनाइ छ ।
प्रतिक्रिया