धनगढीका प्रदेशुले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर सम्मको पढाई
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक अुन् । आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उनमा। तर, मुख्य चुनौतीको विषय थियो, आर्थिक जोहो।
उनले परम्परागत कृषिबाहेक केही काम सिकेका थिएनन् । अरू, काम गरौं शैक्षिक योग्यता थिएन। बाबुबाजेले कृषिकै काम गरेका थिए। चौधरीको अगाडि पनि त्यहि एक विकल्प थियो। त्यसैलाई उनले व्यावसायिक बनाउने र कमाएर सन्तती पढाउने निधो गरे ।
“२०५७ सालमा जग्गा लिजमा लिएर थोरथोरै तरकारी खेती गरेँ”, कृषि कार्यमा मिहिनेती चौधरीले तरकारी खेती गरेर आफ्ना तीन छोरीलाई स्नातकोत्तरसम्म पढाउन सफल भए । उनकी छोरी रेखा, करिश्मा र रविताले फाइनान्समा स्नातकोत्तर गरे । धनगढीमै रहेको कैलाली बहुमुखी क्याम्पसबाट तीनै जनाले स्नातकोत्तर गरे ।
पढाइ पूरा गरेर अब दुई छोरीले कृषिको काममा सघाइ रहनुभएको छ। जेठी रेखाले गतवर्ष नेपाल विद्युत् प्राधिकरणमा नाम निकालेर उतै काम गर्ने गरेको र दुई छोरीले कृषिको काममा सघाउने गरेको प्रदेशुको भनाइ छ।
बुबाले बाटो देखाइ दिएकाले बुबालाई सुख दिनका लागि अब लोकसेवाको तयारीमा जुट्ने करिश्माको भनाइ छ। बुबाले उत्पादन गरेको तरकारी उनले नै धनगढीको हात बजारमा पुगेर बेच्ने काम गर्नुहुन्छ। तरकारी महँगो भएको बेला हाट बजारमा दिनको छ हजारसम्मको तरकारी बिक्री गर्ने गरेको उनको भनाइ छ ।
महिनामा एक लाख बढी आम्दानी
कृषक चौधरीले ३५ कट्ठा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक ७० हजार भाडा तिर्ने गरी जाइँकै रामसिंह चौधरीको जग्गामा तरकारी खेती भइरहेको छ। बिना तालिम आफ्नै अनुभवले सिजनल, अफसिजनल दुवै खाले तरकारी खेती गर्ने गरेको चौधरीको भनाइ छ।
उनले बारीमै पाँच वटा भैँसी पाल्नु भएको छ। यसैगरी, गड्यौला मल पनि उत्पादन गर्दै आउनु भएको छ। तरकारी, दुध र गड्यौला मल सबै बेचेर मासिक एक लाख बढी कमाउने गरेको चौधरीको भनाइ छ।
दैनिक २० लिटर दुध उत्पादन हुने गरेको छ। दुधमात्रै मासिक ६० हजारको बिक्री गर्ने गरेको उनले बताए । गोबर र गड्यौला मल हालेर तरकारी खेती गर्ने गरिएकोले उत्पादित तरकारी अर्गानिक नै हुने गर्दछ। तरकारी बिक्रीका लागि बजार समस्या छैन।
 
                     
                                 
                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया