बाजुरामा पाँच किलोमिटर कालोपत्रे गर्न पाँच वर्ष
बाजुरा । बाजुराको सेरा, आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैनसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम अझै पूरा भएको छैन । करिब पाँच वर्षअघि सुरु भएको काम २०७९ सालमा सम्पन्न गर्ने योजना थियो तर त्यो अझै पूरा भएको छैन । सो सडक कालोपत्रे गर्ने ठेक्का जयदेवी एसएस निर्माण सेवा प्रालिले ११ करोड रुपियाँमा लिएको थियो तर सो कम्पनीले जिम्मा लिएको पाँच वर्ष पुग्न लाग्दा पनि काम गर्न सकेको छैन ।
सेरा आटीचौर सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि अहिले सो सडकको कालोपत्रे गर्ने काम निकै ढिलाइ भएको बुढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दैनिक खाद्यान उपभोग्य सामग्री ढुवानी गर्नका लागि आटीचौर, डोगडी, कुडी, डुग्रीलगायतका स्थानीय यो सडकमा आउजाउ गर्ने गर्दछन् ।” सडक कालोपत्रे गर्ने काम समयमै पूरा नभएकाले अहिले यहाँका स्थानीयलाई बर्खाको समयमा सडकमा आउजाउ गर्न निकै सास्ती हुने थापाले बताउनुभयो ।
२०६५र६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटीचौरसम्मको कच्ची सडकको निर्माण गरेपछि सवारीसाधान सञ्चालनमा आएका थिए । हिउँद वा बर्खामा बाटो अवरुद्ध हुँदा ती सवारीसाधन आवागमनमा अवरुद्ध हुने गरेका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरेर स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापर्बाहीका कारण सधैँ यसरी नै अलपत्र पर्ने गरेकोले सास्ती खेप्दै आउनु परेको छ । कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्ष पहिला कोरोनाको कहर तथा मूल्य वृद्धि र गिट्टी नभएकाले समयमा काम गर्न नसकेको हो ।” अहिले म्याद थपिएको छ । २०८२ असारभित्र कालोपत्रेको काम सम्पन्न गर्ने शाहीले बताउनुभयो ।
अहिले झन्डै ६३ प्रतिशत काम भएको बताउँदै पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले त्यसको पैसा पनि दिइसकेको छ, बाँकी काम सकिएपछि भुक्तानी दिने बताउनुभयो ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया