सुदूरपश्चिम सरकारको प्रतिबद्वतापछि लेखा समूहका कर्मचारीले लिए आन्दोलन फिर्ता
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माग सम्बोधन गर्ने प्रतिबद्वता जनाएपछि लेखा समूहका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
लेखा समूहका कर्मचारीहरूले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सामान वृत्ति विकास गर्ने प्रतिबद्वता जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।
प्रदेश सरकारको तर्फबाट समस्या समाधानका लागि आर्थिक मामिला मन्त्रालयका सचिवको अध्यक्षतामा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्दै काम समेत प्रारम्भ गरिसकेको, मुख्यमन्त्रीले प्रदेश लोक सेवा आयोगका अध्यक्ष, प्रमुख सचिव, प्रदेश लोक सेवा आयोगका सचिव र लेखा समूहका कर्मचारीबीच भएको छलफलमा प्रशासन सेवा अन्तरगतका विभिन्न समूहमा कार्यरत समान तहका कर्मचारीहरुको समान वृत्ति विकासको सुनिश्चितता हुने गरी प्रकृिया अगाडि बढाउन निर्देशन दिइसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
लेखा समूहका कर्मचारीहरुको वृत्ति विकासको समस्या समाधानको सकारात्मक पहलका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिदै कार्यान्वयनमा गम्भीर बन्न समेत अनुरोध गरिएको छ ।
कर्मचारीहरूले आन्दोलनका कारण सरोकारवाला पक्षहरुलाई पर्न गएको असुविधा, संवेदनशिलता र विकास खर्चमा पर्न जाने असर समेतलाई मध्यनजर गर्दै बिहीबार देखि नै धर्ना कार्यक्रम अन्तर्गत भुक्तानी निकासा रोक्का रहेका कार्यहरु सुचारु गरेको समेत जानकारी गराइएको छ ।
लेखा समूहका कर्मचारीहरूले वृत्ति विकासको माग गर्दै आन्दोलित कर्मचारीले प्रदेश सरकार अन्तरगतका सबै निकायमा खाता रोक्का गर्दै भुक्तानी रोक्का गरेका थिए भने मुख्यमन्त्री कार्यालय लगायतका निकायमा धर्ना समेत दिएका थिए ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया