बेरोजगार युवालाई बाजुराका गाउँमै रोजगारी

  बिहिबार ०६, चैत २०८१ ०९:१७

बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिले भन्दै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । 

यही अवस्थालाई ध्यानमा राख्दै पछिल्लो समय यहाँको गाउँपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगार दिने गरी सिकर्मी, डकर्मी, सिलाइकटाइ, प्लम्बर हाउस वाइरिङ र फर्निचरलगायतका विभिन्न किसिमका तालिम दिन थालेको हो ।

सिप सिकेपछि यहाँ आएका विकास निर्माणका योजनामा काम मिल्न थालेको हिमाली गाउँपालिका–४, फैतीका अक मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा आएको बेला अहिले पालिकाले सिकर्मी डकर्मीको तालिममा सहभागी गराइदिएपछि बल्ल घर बनाउने, रङरोगन गर्नेलगायतका विभिन्न काम आउन थालेको छ  ।”  

केही समयपहिला गाउँमा राम्रो जनशक्ति नहुँदा यहाँ हुने गरेका ठुलठुला विकास निर्माणका लागि बाहिरबाट सिकर्मी डकर्मी बोलाउनु पथ्र्यो अहिले पालिकाले तालिम दिँदै दक्ष बनाएपछि गाउँका विकास निर्माणका काममा बाहिरबाट कोही बोलाउनु परेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रूपान्तरण कार्यक्रममा अहिले यहाँका युवालाई गाउँमै विभिन्न तालिम तथा काम दिने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका युवाको क्षमता, दक्षता र माग अनुसार विभिन्न तालिम दिने गरेका छौँ । यहाँका अधिकांश युवाले सो तालिम लिएर अहिले गाउँकै विकास निर्माणका काम गर्न थालेका छन् ।” 

हिमाली गाउँपालिकाको साझेदारी र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँ २२ वटा विद्यालयको सुविधायुक्त भान्सा भवन निर्माण भइरहेका छन् । झन्डै दुई करोड रुपियाँको लागतमा निर्माण हुने यी भवनमा अहिले यहाँकै उत्पादन गरेको जनशक्ति परिचालन गरेको छ । 

हिमाली गाउँपालिकाले झन्डै दुई सय युवालाई सिलाइ, फर्निचर, जुत्ता सिलाउने, वाइरिङ, रङरोगन र प्लम्बरको तालिम दिएको र सिप अनुसार गाउँमा हुने गरेका विकास निर्माणका काममा समेत जिम्मेवारी दिने गरेको अध्यक्ष मल्लले बताउनुभयो ।   

clock बिहिबार ०६, चैत २०८१ ०९:१७

प्रतिक्रिया