सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरुले मुख्यमन्त्री कार्यालयमा धर्ना दिने

  आइतबार ०२, चैत २०८१ १६:५३

धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने भएका छन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ हुबहु पास गर्नुपर्ने माग गर्दै आन्दोलनमा रहेका स्थानीय तहका कर्मचारीले सोमबारदेखि मुख्यमन्त्री कार्यालयमा धर्ना दिने बताएका हुन् । 

‘सुदुरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिद्वारा तयार गरिएको स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको प्रतिवेदनलाई हुबहु पारित गराउने प्रक्रियाका विरुद्धमा विभिन्न समूह वा खेमाबाट दबाब भइरहेको छ,’ सुदूरपश्चिम प्रदेशका स्थानिय तहका कर्मचारी संघर्ष समितिका अध्यक्ष गम्भीरसिंह साउँदद्वारा जारी सूचना भनिएको छ, ‘त्यसले स्थानिय तहका कर्मचारीका सेवासुविधा कटौती हुने अवस्था रहेको हुँदा ८८ वटै पालिकाबाट धर्ना कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।’ सोमबार विहान १० बजेदेखि धर्ना कार्यक्रम रहेको सूचनामा उल्लेख छ । 

१३ जेठ २०८१ मा सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ प्रस्तुत गरेका थिए । २५ जेठको बैठकमा विधेयकमाथि सामान्य छलफल भएको थियो ।

२९ साउनको दफाबार छलफलका लागि उक्त विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठायो । समितिले उक्त विधेयकमा छलफलका लागि २८ वटा बैठक ग¥यो । बैठकपछि तयार पारिएको प्रतिवेदन सभामुख भीम भण्डारीलाई पनि बुझाइसकेको छ । प्रदेश स्थानीय सेवा ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारका रूपमा नियुक्त भएकालाई पहिलोपटकका लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था विधायन तथा प्रदेश मामिला समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो व्यवस्थाले सीमित कर्मचारीलाई फाइदा पुग्ने कतिपयको तर्क छ । 

विधेयकमा रहेको कर्मचारी बढुवाको व्यवस्थाले पनि थप विवाद बढाएको छ । साविक स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्त भई स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई माथिल्लो तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता पुगेको भए अख्तियारवालाले एक पटकका लागि स्थानीय सेवाको क्रमशः अधिकृत सातौँ र नवौँ तह कायम गरिदिने विधेयकमा उल्लेख छ ।

स्थानीय तहका कर्मचारीहरूले विधायन तथा प्रदेश मामिला समितिले लामो समय अध्ययन गरेर सभामुखलाई बुझाएको उक्त प्रतिवेदन हुबहु प्रदेशसभाबाट पारित गर्नुपर्ने माग अगाडि सारेका हुन् । तर, सोही विधेयकको विरोधमा विद्यार्थीहरु भने आन्दोलनमा छन् ।

clock आइतबार ०२, चैत २०८१ १६:५३

प्रतिक्रिया