बझाङ भूकम्प पीडित : १७ महिना बित्दा पनि दोस्रो किस्ता पाएनन्
बझाङ । बझाङको बुंगल नगरपालिकाका भूकम्प प्रभावित परिवारहरूले अस्थायी आवास निर्माणको दोस्रो किस्ता रकम अझै पाउन सकेका छैनन्। गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपैयाँ मात्र उपलब्ध गराएको थियो। तर, अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दा समेत पीडितहरूले उक्त रकम पाएका छैनन्।
भूकम्प प्रभावित परिवारमध्ये केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै भुक्तानी भएको छैन। भूकम्प प्रभावितहरूले अस्थायी आवास निर्माण गरी आवश्यक कागजातहरू नगरपालिकामा बुझाए पनि रकम नपाएको गुनासो गरेका छन्।
बुंगल नगरपालिका–५ ब्युनाडाका रामबहादुर विकका अनुसार दोस्रो किस्ता रकम नपाउँदा कतिपय अस्थायी आवासहरू अधुरै छन् भने निर्माण सम्पन्न गरेका परिवारले ऋण तिर्न सकेका छैनन्। २०८० असोज १६ र २० गते गएको भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा प्रभावित परिवारहरू अस्थायी टहरामै बस्न बाध्य छन्।
लगातार दुई वर्षको जाडो मौसम टहरामै कटाउनुपरेको पीडितहरू बताउँछन्। दोस्रो किस्ता नपाउने आशङ्कामा कतिपय प्रभावितहरू कामको खोजीमा छिमेकी राष्ट्र भारत पलायन भइसकेका बुंगल नगरपालिका–२ रैसेल्लीका कर्ण जाग्रीले बताए ।
किन रोकिएको छ दोस्रो किस्ता ?
स्थानीय विपद् व्यवस्थापन समिति (एलडिएमसी)ले भूकम्प प्रभावितहरूको पहिचान गरी लाभग्राहीको विवरण विपद् पोर्टलमा प्रविष्ट गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिले दोस्रो किस्ता अनुदान माग गर्नुपर्ने हुन्छ। तर, बुंगल नगरपालिकाले अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम आवश्यक प्रक्रिया समयमा पूरा नगरेकाले दोस्रो किस्ता रोकिएको हो।
नगरपालिकाले पछि आवश्यक प्रक्रिया पूरा गरी दोस्रो किस्ता माग गरे पनि हाल सम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट रकम प्राप्त नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशीको भनाई छ ।
बुंगल नगरपालिका बाट स्पष्ट विवरण नआएकाले दोस्रो किस्ता रोकिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए। “पहिलो किस्ता पाएका लाभग्राहीहरूले मात्रै दोस्रो किस्ता पाउँछन्। तर, नगरपालिकाले दोस्रो किस्ता पाउने लाभग्राहीको सूचीमा थप गरी पठाएकाले भुक्तानी दिन नसकिएको हो,“ उनले बताए।
उनका अनुसार जिल्लाका अन्य सबै पालिकाले दोस्रो किस्ताको रकम समयमै पाइसकेका छन्। “बुंगल नगरपालिकाले स्पष्ट विवरण उपलब्ध गराएपछि भुक्तानी दिनेछौं,“ प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। भूकम्प पीडित परिवारको पुनर्स्थापना प्रक्रिया अघि बढाउन सरकारको तर्फबाट बझाङको जय पृथ्वी नगरपालिका–९, देवलमा आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना गरिएको छ ।
प्रभावितले अस्थायी आवास निमार्णको दोस्रो किस्ता समेत नपाएको अवस्थामा गृहमन्त्री रमेश लेखकले भने भूकम्प प्रभावितहरूको निजी घर तीन महिना भित्र पुनर्निर्माण गरिसक्ने गरी काम गर्न निर्देशन दिएका छन् छ।गत वर्ष असोज १६ र २० गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बझाङमा ४ हजार ८ सय ५८ घर क्षतिग्रस्त भएका थिए । गोरखापत्रबाट
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया