धनगढी–दीपायल द्रुतमार्गका आठ पुलको भुक्तानी दिन १५ करोड थप बजेट माग

  शनिबार २७, माघ २०८१ १८:१३

धनगढी । धनगढी–दीपायल द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो। निर्माण कम्पनीले २०८० बैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो।

मटेली खोलामा पुल निर्माणका लागि तीन करोड २६ लाख १५ हजार, चौकीगडाका लागि चार करोड ७० लाख ३३ हजार र चेपाट्टे खोलामा पुल निर्माणका लागि २ करोड ९७ लाख १६ हजारमा सम्झौता भएको छ। सम्झौता अवधीभित्र काम पूरा नगरेको मित्र बिल्डर्सलाई पहिलो पटक २०८० कात्तिक १५ गतेसम्म पुल निर्माणको समय थप गरिएको थियो।

तर, हालसम्म पनि पुल निर्माणको काम सकिएको छैन। धनगढी–दीपायल–चैनपुर–उरै भञ्ज्याङ्ग सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले असारसम्म उक्त पुलहरुको निर्माणको काम पूरा हुने बताए। उनले भने, ‘क्याप लेवलसम्म ढलान भएको छ। असार मसान्तसम्म स्लाप हाल्छन। चौकीगडा र सालकोटमा पहिलै सल्याप हालेको हो। सालकोटको काम पूरा भएको हो। असारसम्म ६ वटा पुलको काम सकिन्छ।’

काला खोला लामागडा पुल निर्माणका लागि टीडीआर कन्स्टक्सनसँग २०७८ माघ १७ गते ठेक्का सम्झौता भयो। निर्माण कम्पनीले चार करोड ५ लाख २ हजार लागत रहेको पुल २०८० वैशाख १५ गतेभित्र निर्माण गरिसक्ने गरी सम्झौता भएको हो। मालिका–शनीदेव जेभीसम्ग नकुराडी खोला पुल निर्माणका लागि तीन करोड ८२ लाख ७४ हजारमा २०७८ माघ १६ गते सम्झौता भएको थियो।

निर्माण कम्पनीले २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, निर्माण कम्पनीले कालाखोला पुल निर्माणको काम आगामी असारसम्म पनि नसक्ने भएको छ। योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखौलाले कालाखोलाको काम पूरा नहुने बताए।

गल्वा–जगदम्बा–सुर्मा सरोवर जेभीसँग तीन करोड ९७ लाख १८ हजारको सल्कोट खोलामा पुल निर्माणका लागि २०७८ माघ १६ गते सम्झौता भयो। २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। हाटखोली खोला र ग्वासी खोलामा पुल निर्माणका लागि गुल्लीभर–कुटुम्ब–भुवनेश्वरी जेभीसाग २०७८ जेठ २५ गते ठेक्का सम्झौता गरिएको थियो।

हाटखोलीमा पुल निर्माणका लागि पाँच करोड १९ लाख ७८ हजार र ग्वासी खोलामा पुल निर्माणका लागि चार करोड ५० लाख ६१ हजारमा सम्झौता भएको हो। २०८० को मङ्सिर २४ गतेभित्र पुलको काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीहरूले असारसम्म काम पूरा गर्ने लक्ष्य बनाएका छन। डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले द्रुतमार्गका पुलहरुको काम अलपत्र रहेको बताए। उनले भने, ‘खुटिया–दीपायल द्रुतमार्ग सडक निर्माणको काम भएको छ। पुलहरुको ठेक्का भएको छ। तर, पुलहरूको काम हुँदैन। ठेकेदारहरूले काम नै गर्दैनन्।’

पुल निर्माणको भुक्तानी दिन १५ करोड आवश्यक

सङ्घीय सरकारले ८ पुल निर्माणका लागि ६ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०८१र०८२ मा विनियोजन गरिएको बजेटमा चार करोड ५० लाख खर्च भएको छ। एक करोड ८० लाखको हाराहारीमा मात्र बजेट बाँकी छ। योजना कार्यालयमा ५१ लाखको बिल पेस भएको छ।

तर, अर्थ मन्त्रालयले भुक्तानी प्रणाली रोकेको छ। असारसम्म १५ करोडको काम हुने भन्दै थप बजेट माग गरिएको छ। धनगढी–दीपायल द्रुतमार्गका आठ पुलको भुक्तानी दिन १५ करोड थप बजेट माग गरिएको हो।

चालु आर्थिक वर्षको असारसम्म ६ वटा बाँकी पुल निर्माणको काम पूरा हुने आयोजना कार्यालयको दाबी छ। तर, भुक्तानीका लागि बजेट अभाव हुने देखिएको छ। लामो समयदेखि अलपत्र परेका पुलहरू निर्माणको भुक्तानी दिन थप बजेट माग गरिएको छ।

 

clock शनिबार २७, माघ २०८१ १८:१३

प्रतिक्रिया