डोटीको बोगटान–फुड्सिलको केन्द्रमा पुग्यो राष्ट्रिय लाइनको विद्युत्
धनगढी । डोटीको बोगटान–फुड्सिल गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। गाउँपालिका–७ चवराचौतारामा रहेको ट्रान्सफर्मरमा मङ्गलवार बिजुली बालिएको हो।
नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र दीपायलको ११ केभी प्रसारण लाइनको विद्युत् चवराचौतारामा रहेको ट्रान्सफर्मरमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच बालेर विद्यु्त्को उद्घाटन गरेका छन। नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्रका उत्तम धामीको उपस्थिति कार्यक्रमको आयोजना गरिएको हो।
गड्सिलाले पालिकाका ७ वटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको बताएका छन्। विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको उनले बताए।
अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने उनले बताए। ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने उनको दाबी छ।
हाल बोगटान फुड्सिल गाउँपालिका– ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ। गाउँपालिकाका ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सोलार विद्युत्को पहुँच रहेको छ।
प्रतिक्रिया