शारदा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि दुर्गालक्ष्मीलाई

  शनिबार १९, माघ २०८१ १७:३२

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा जारी प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि दुर्गालक्ष्मी नमुना माविले हात पारेको छ ।

आज भएको फाइनल खेलमा सरस्वती मावि गेटालाई २—० ले पराजित गर्दै दुर्गालक्ष्मीले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता बनेको दुर्गालक्ष्मीले नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको सरस्वती माविले नगद २५ हजारसहित, ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनले प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

गत माघ १६ गतेदेखि स्याउलेस्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगिताको आज एक समारोहका बिच समापन गरिएको छ ।

समापन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए । पाठकले प्रतियोगिताका विजेतालाई ट्रफि तथा पुरुस्कार हस्तान्तरण गरे ।

प्रतियोगितामा प्लेयर अफ द फाइनल तथा सर्वाधिक गोलकर्ता सुरेस साउँद बने भने वेस्ट गोल किपर सुदिप विक घोषित भए । उदयीमान खेलाडी सुमित चौधरी घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी दिवस भट्ट घोषित भए ।

प्लेयर अफ द फाइनललाई नगद दुई हजार पुरुस्कार प्रदान गरिएको थियो भने सर्वाधिक गोलकर्ता, वेस्ट गोल किपर, उदयीमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई एकएक हजार नगद प्रदान गरिएको थियो ।

लिग चरणमा खेलाईएको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको थियो ।

clock शनिबार १९, माघ २०८१ १७:३२

प्रतिक्रिया