बैतडीमा कम तौल भएको चामलको बोरा बिक्री
बैतडी । बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको पाइएको छ । ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको पाइएको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको बालाजी राइस मिल, एच्छा राइस मिल र कञ्चनपुरको कृष्णपुरस्थित त्रिपुरासुन्दरी एग्रो इण्डस्ट्रिज प्रालिले उत्पादन गरी बैतडीमा बिक्री भइरहेको चामलको बोरामा आधा किलो र एक किलो तौल कम भएको बैतडीका व्यापारीले गुनासो गरेका छन् ।
पाटन नगरपालिका –८, विप्याकटाल बैतडीका खुद्रा व्यापारी हरिश बिष्टले चामलको बोरामा कम्पनीले ठगी गरेको गुनासो गरे । उनले, बोरा खोलेर खुद्रा चामल बिक्री गर्दा व्यापारी र सिङ्गो बोरा किन्दा उपभोक्ता ठगिएको बताए । बजारमा मोटो चामल प्रतिकिलो ५४ प्रतिकिलो दर रेटमा बिक्री भइरहेको छ ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा कम्पनीले कम तौल भएको चामलको बोरा पठाएको गुनासो आएकोले अनुगमन गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले तुरुन्तै अनुगमन गर्ने तयारी भइरहेको बताए ।
बैतडीवासीलाई वार्षिक ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा जिल्लामा छ हजार मेट्रिक टन मात्र धान फल्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क छ ।
ठुलो परिमाणमा बाहिर जिल्लाबाट चामलको आपूर्ति हुने गरेको छ । बाहिर जिल्लाबाट आयात हुने खाद्यान्नमा उपभोक्ता ठगिने गरेका छन् ।
तथ्याङ्कअनुसार जिल्लामा १३ हजार मेट्रिक टन मकै, १० हजार मेट्रिक टन गहुँ र छ हजार मेट्रिक टन धान गरी जम्मा २९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । अपुग हुने वार्षिक १८ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात हुने गरेको पाइएको छ ।
बाहिरी जिल्लाबाट आउने खाद्यान्नमा तौल कम भएको विषयमा जिज्ञासा राख्दा खाद्य गुण नियन्त्रण कार्यालयले बैतडीको कार्यालय प्रमुख ललित कठायतले तौलका विषयमा आफ्नो क्षेत्राधिकार नभएको बताए । उनले भने, “हामीले खाद्यान्नको गुणस्तर हेर्दै आएका छौं । तौलको विषयमा नाप तौल विभागले हेर्छ । यद्यपि बजामा कम तौल भएको चामलको बोराका विषयमा सम्बन्धित कार्यालयसँग समन्वय चाहिँ गर्छौं ।”
प्रतिक्रिया