सुदूरपश्चिममा जन्मिएर मुलुककै लागि योगदान गरेका हस्तीहरू धनगढीका पर्खालमा सङ्गृहीत
धनगढी । सुदूरपश्चिममा जन्मिएर मुलुककै लागि योगदान गरेका हस्तीहरू धनगढीका पर्खालमा सङ्गृहीत भएका छन् । धनगढी उपमहानगरपालिकाको कार्यालयले सहिददेखि साहित्यकार, कलाकार, खेलाडीसम्मका चर्चित व्यक्तिलाई सार्वजनिक पर्खाल–भित्तामा उतारेको हो । सार्वजनिक क्षेत्रका पर्खालमा सुदूरपश्चिम प्रदेश र यहाँको संस्कृति, संस्कार, पहिरन, खानपानलाई चिनाउने गरी चित्र बनाउने अभियान थालेको धनगढी उपमहानगरपालिकाको कार्यालयले चर्चित हस्तीका चित्र पनि बनाएको छ ।
प्रदेशका विभिन्न जिल्लामा जन्मेर मुलुकका लागि योगदान दिएका व्यक्तिको चित्र सेती प्रादेशिक अस्पतालको भित्तामा बनाइएको छ । सहिद दशरथ चन्द, बाँकावीर बलदेव शाह, जयपृथ्वीबहादुर सिंह, डा. केआई सिंह, भीमदत्त पन्त, पहलमानसिंह स्वाँर, द्वारिकादेवी ठकुरानीका ठुलठुला चित्र अस्पतालको भित्तामा उतारिएको छ ।
अस्पताल परिसर पुग्दा सुदूरपश्चिम प्रदेशमा जन्मेर यो क्षेत्रलाई चिनाउनेदेखि मुलुकमै योगदान दिएका व्यक्तिसँग साक्षात्कार गरेको जस्तो महसुस हुने गरेको त्यहाँ भेटिएका धनगढीका राजेन्द्र भट्टले बताए । “धेरै जनालाई सुदूरका यी सपुतको नाम पनि थाहा छैन । यहाँबाट जानकारी पाउन पनि सहज भएको छ,” उतले भने ।
यस्तै ऐश्वर्य विद्या निकेतनको पर्खालमा साहित्यकारहरूको चित्र उतारिएको छ । जसमा मुलुककै साहित्यमा योगदान दिएकादेखि लिएर मदन पुरस्कार विजेताका चित्र रहेका छन् । त्यस्तै डिभिजन वन कार्यालयको पर्खालमा सुदूरपश्चिमलाई चिनाउने गरी गीत–सङ्गीतमा योगदान दिएका गायकगायिकाको चित्र बनाइएको छ । यसै गरी सामाजिक विकास मन्त्रालय क्षेत्रको पर्खालमा खेलाडीको चित्र उतारिएको छ ।
धनगढी उपमहानगरपालिकाले संस्कृति प्रवर्धनमा छुट्याइएको बजेटमार्फत सार्वजनिक पर्खालमा ‘वाल पेन्टिङ’ गरेर प्रदेशलाई चिनाउने चित्र उतार्ने काम गरिरहेको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए । उनले सहिद, साहित्यकार, कलाकार, खेलाडीलाई सम्मानस्वरूप धनगढी उपमहानगरपालिकाले उनीहरूको चित्र पर्खालमा उतार्ने काम गरेको बताए ।
“स्थानीय सरकारले ख्यातिप्राप्त व्यक्तिको सम्मान गर्नु पर्छ भन्ने मान्यताका साथ यो काम भइरहेको छ,” उनले भने, “यसका साथै प्रदेशलाई चिनाउने विभिन्न जातजातिका कला, संस्कृति, संस्कार, वेशभूषाको प्रवर्धन हुने गरी चित्र बनाइएको छ ।” सुदूरपश्चिम प्रदेशबाट थुप्रै खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् । ती खेलाडीको कुनै लेखाजोखा नरहेकाले धनगढी उपमहानगरपालिकाले सबैलाई सम्मानस्वरूप उनीहरूको चित्र सार्वजनिक पर्खालमा उतारेको ऐरले बताए ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया