अछामका दुई किशोरी मृत्युु :अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट टाेली परिचालन
धनगढी । अछाममा गाेठालाे गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाकाे अनुसन्धानका प्रदेश प्रहरी कार्यालयकाे टाेली समेत परिचालन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ काे छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाकाे अनुसन्धानका लागि टाेली परिचालन गर्न गरेकाे हाे ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेकाे अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टाेली परिचालन गरिएकाे बताए ।
“जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेकाे छ तर अहिलेसम्म धेरै कुरा खुलेकाे छैन्,” उनले भने, “अनुसन्धानलाई सघाउन प्रदेशबाट टाेली परिचालन गर्दैछाैं । दिउँसोसम्म अछाम पुग्छ ।”
शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खाेजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएकाे छ ।
उनीहरूमाथि अनुसन्धान जारी छ ।
साेधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएकाे थियाे । उनीहरूलाई साेधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हाे ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।
भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सीआईबी) सँग पनि सहयाेग लिइरहेकाे बताए ।
भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूकाे शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरू शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुरकाे प्रयाेग गरेर पनि अनुसन्धान गरेको थियाे । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिराे अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।l
प्रतिक्रिया