श्रमजीवीका सवालमा गम्भीर बन्न प्रेस चौतारी कैलालीको अपिल

  सोमबार १५, माघ २०८१ २०:४७

धनगढी । प्रेस चौतारी नेपाल कैलालीको बैठक धनगढीमा सम्पन्न भएको छ । ११ माघमा ८औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक सोमबार बसेको हो । बैठकले जिल्लामा क्रियाशिल पत्रकारलाई पेशामा टिकाइराख्न, श्रमजीवी पत्रकारले भोग्न परेका समस्या सामाधान गर्न सम्बद्व सञ्चार माध्यम र सबै पक्षलाई अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै, पेशामा जोडिन चाहानेहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्न पनि सम्बद्व पक्षलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकले पत्रकार अक्षयकोष स्थापना गर्ने निर्णयलाई कार्यान्वयन गर्ने, पत्रकारिताका माध्यमबाट प्रेस चौतारीको संगठन निर्माणमा भूमिका खेल्ने अग्रजलाई स्थापन दिवसमा सम्मान गर्ने निर्णय पनि गरेको छ ।

८औं जिल्ला अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका केन्द्रीय, प्रदेश र तत्कालीन जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, संगठनको निर्वाचन आयोगका अध्यक्ष तथा सदस्य, एमाले जिल्ला कमिटी र प्रचार विभाग लगायतलाई धन्यवाद दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैठकमा सपथ ग्रहण गर्न बाँकी रहेका पदाधिकारी तथा सदस्यलाई संगठनका नवनिर्वाचित अध्यक्ष जनक सिंह विष्टले सपथ ग्रहण गराएका थिए । संगठनका कैलाली इन्चार्ज सुशील ढुंगानाको प्रमुख आथित्यततामा बसेको पहिलो बैठकमा एमालेका जिल्ला उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट विशिष्ट अतिथि थिए ।

यस्तै प्रेस चौतारीका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, एमाले सुदूरपश्चिम प्रचार तथा प्रकाशन विभाग सचिव भोजराज जोशी, प्रदेश अध्यक्ष कृष्ण ओली विशिष्ट अतिथि र प्रदेश महासचिव शिवराज भट्ट, पूर्वकेन्द्रीय सदस्य गोविन्द रोस्यारा, प्रदेश सदस्य बिराज रोस्यारा लगायतका नेता अतिथिका रूपमा सहभागी थिए ।

clock सोमबार १५, माघ २०८१ २०:४७

प्रतिक्रिया