धनगढीमा सिप तथा रोजगार मेलाको मिति सर्यो, अब फागुन ८ देखि चैत ८ गतेसम्म मेला चल्ने
धनगढी । धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति सरेको छ। नयाँ मिति अनुसार फागुन ८ गतेदेखि चैत ८ गतेसम्म सिप तथा रोजगार र मेला चल्ने भएको हो। एक महिनसम्म चल्ने सिप तथा रोजगार मेलामा यो पटक एक हजार १२२ जनालाई विभिन्न आठ विधामा २९ किसिमका तालिम दिइने छ। धनगढी उपमहानगरपालिकामा स्वयम् सेवक परिचालन गरी धमाधम फाराम भर्ने काम भइरहेको छ।
धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति सरेको हो। माघ २२ गतेबाट हुने भनिएको मेलाको मिति सरेर फागुन ८ गतेबाट हुने भएको हो। एक महिनासम्म चल्ने सिप तथा रोजगार मेलाको मिति सरेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। उनले विभिन्न प्राविधिक कारणले मेला सरेर फागुन ८ देखि चैत ८ गतेसम्म चल्ने बताए।
स्वयम् सेवक आवेदन भर्न सहयोग गर्दै
युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले सिप तथा रोजगार मेलामा एक हजार १२२ जना युवालाई सिपमूलक तालिम दिएर रोजगारीमा पदस्थापन हुन तथा स्वरोजगार हुने गरी दुई दिने रोजगार मेला समेत सञ्चालन गरिने छ।
युवाहरूलाई विभिन्न क्षेत्रमा काम गर्नका लागि आवश्यक सिप तथा ज्ञान प्रदान गर्न एक महिनासम्म विभिन्न आठ विधामा २९ किसिमका तालिम प्रदान गरिने छ। तालिममा सहभागी हुन इच्छुक १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूलाई माघ २० गतेसम्म अनलाइन या हातैले फाराम भर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।
धनगढीमा भने हरेक वडा तथा नगरपालिका परिसरमा फाराम भर्न सहयोग गर्न स्वयम् सेवक खटाइएको छ। माघ २० गतेसम्म हरेक दिन बिहान १० देखि ५ बजेसम्म सिप तथा रोजगार मेलामा सहभागी हुन इच्छुक युवालाई आवश्यक सहयोग गरिरहेको नगरपालिका परिसरको हेल्प डेस्कमा खटिएकी स्वयम् सेवक निलम वोगटीले बताइन्।
’हामीले फाराम भर्न आउने युवाहरूलाई अनलाइन फाराम भर्न सहयोग गरिरहेका छौँ। दैनिक पचासदेखि एक सय जनाको अनलाइन फाराम भर्ने काम भइरहेको छ,’ उनले भनिन्, ’हामी चार जनाले नगरपालिका परिसरमा सहयोग गरिरहेका छौँ भने धनगढीका टाढाका वडाहरूमा पनि स्वयम् सेवक पुगेर अनलाइन र हातले फाराम भर्ने काम भइरहेको छ।’
सिप हासिल गरेका युवालाई स्वरोजगार हुन प्रेरित गरिने
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका युवाहरूले सिप तथा रोजगार मेलामा तालिमका लागि आवेदन दिन सक्ने छन्। तालिम लिन चाहने व्यक्तिले आफ्नै मोबाइलबाट क्यूआर स्क्यान गरी आवेदन फाराम भर्न सक्ने छन्।
यस्तै नगरपालिकाको रोजगार सेवा केन्द्र र वडा कार्यालयबाट हातैले फाराम भर्न सक्ने छन्। अहिलेसम्म दुई हजार पाँच सय व्यक्तिको अनलाइन आवेदन प्राप्त भएको रोजगार संयोजक महराले बताए।
सिप तालिम पश्चात् अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्वरोजगार तथा उद्यम व्यवसाय गर्न चाहनेहरूका लागि ५ दिने व्यवसाय सुरुवात तथा सुधार तालिम दिइने छ। यस्तै, चैत १४ र १५ गते दुई दिने रोजगार मेला सञ्चालन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया