रावलको अभियानलाई साथ दिएपछि एमाले अछामका ६ नेताको जिम्मेवारी खोस्यो
अछाम । नेकपा एमाले अछामले पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष भिम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा संग्लग्न भएको भन्दै बुधबार ६ जनालाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट हटाएको छ ।
केही पार्टी सदस्यहरुले पार्टीका आधिकारिक व्यक्तिलाई जानकारी एमाले छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चारमाध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागारण अभियान नामक जुलुसमा समावेश भई पार्टीविरुद्ध र प्रधानमन्त्री एवं पार्टी अध्यक्षका विरुद्धमा लागेको भन्दै ६ जनालाई हटाएको हो । जसमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई जिम्मेवारीबाट हटाइएको छ ।
बुधबार पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेको विधानको धारा ८० को उपधारा १ , २ ,३,४, ५ ,१२ दर १३ विपरीत गतिविधि गरेकाले पदीय जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । पार्टी अध्यक्ष र सचिवले पदको दुरुपयोग गर्दै पार्टीबाट हटाउने नयाँ तरिका अपनाइएको पार्टी सचिवालय सदस्य र संगठन प्रमुखको जिम्मेवारीबाट हटाइएका प्रकाश शाहले बताए । ‘हटाउनु पर्ने भए बैठक बोलाएर प्रक्रियामा गएर हटाउनु पर्ने होला । बिनाजानकारी विज्ञप्तिबाट हटाइएको थाहा पाउँदा अचम्म लागेको छ,’ शाहले भने ,‘ एमालेभन्दा बामाले भइसक्यो । स्वेच्छाचारी, तानाशाही तरिकाले एमालेभन्दा पनि केपी ओलीको कम्पनी चलाउन खोजिएको छ ।’
४९ वर्षसम्म पार्टीको लागि समर्पित भएका रावललाई बिना गल्ती पार्टीबाट हटाउनु गलत भएको भन्दै त्यसको विरुद्धमा उभिएको उनले बताए । ‘केपी ओलीसँग किन चुनाव लडेको भन्दै पार्टीबाट निकाल्न मिल्छ रु’ उनले भने ।
एमाले पार्टीमा रहँदै भिम रावलको अभियानमा जानु भनेको एमाले छोड्नु नै होइन र भन्ने प्रश्नमा शाहले एमाले पार्टी नछोडेको तर केपी ओलीको निर्णयको विरोध गरेको बताए । ‘भिम रावलले अहिलेसम्म नयाँ पार्टी खोलिसकेका छैनन् । हामीले एमाले पार्टी छोडेका होइनौं । भिम रावलसहितको एमाले हुनुपर्छ भनेर बोलिरहेका छौं,’ उनले भने ,‘ भिम रावलले सुरु गरेको मातृभूमि जागरणमा समाहित भने पक्कै भएका हौं ।’
मंगलबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा १ हजार ८६ जना नेता कार्यकर्ताले भिम रावलको अभियानलाई साथ दिएको घोषणा गरेका थिए ।


                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया