धनगढीमा झण्डै १४ करोडमा नाला निर्माण गरिँदै

  बुधबार ०९, माघ २०८१ १२:४०

धनगढी । धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न शिलान्यास गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नाली निर्माणको शिलान्यास गरेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ नम्बरको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको सात महिनापछि नाली निर्माणको काम सुरु भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफुले चुनावका वेला जनता सम्म गरेको प्रतिवधता पुरा हुने वेला आएको बताए । जनताको घरदैलोमा भोट माग्न जादा डुवानबाट मुक्त गर्ने बढी माग आएपछि संघिय सरकारको सहयोगमा योजना हाल्न सफल भएको बताए । मन्त्री देउवाले पहिलो चरणमा चौराह देखि भन्सार सम्म दुवै तर्फ नालि निमर्णको काम शुरु भएपनि दोस्रो चरणमा माहेनपुर देखि नाली निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका नगरप्रमख गोपाल हमालले ढिल्लै भएपनि धनगढीमा डुवानको समस्या समाधान हुने बताए । उनले परियोजना पुरा गर्ने धनगढी उपमहानगरपालिकाले गनु पर्ने आवश्यक सहयोग र समन्यनका लागी आफु जहिले तयार रहेको बताए । परियोजना समय मै सम्पन गर्ने आफुले सक्दो सहयोग गर्ने र निर्माण कम्पनीहरुले पनि त्यहि रुपमा काम गनुपर्ने बताए ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको छ। पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि इस्टिमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी र शुभलक्ष्मी र आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइजरचन्द्र विकाश र मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी पुष्प भट्टले बताए।

मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माणको काम थालिएको हो। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरूसमेत निर्माण गरिने सहरी विकासले बताएको छ। निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। 

२२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ। इन्जिनियर पुष्प भट्टले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए। मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो।

clock बुधबार ०९, माघ २०८१ १२:४०

प्रतिक्रिया