धनगढी बिमानस्थलमा अवतरण नहुदै जहाज काठमाण्डौं फर्किएपछि .......

  आइतबार ०६, माघ २०८१ ०७:५४

धनगढी । बिमान परिचारिकाले जहाज धनगढी बिमानस्थलमा अवतरण गरिरहेको सूचना दिएको केही मिनेटपछि श्री एयरको जहाज धावनमार्गमा अवतरण गर्ने तयारीमा थियो । धावनमार्ग प्रष्टसंग देखिदै थियो । जहाज र धावनमार्गका बीचमा केही ईञ्चको मात्र दूरी थियो । तर धावनमार्गमा अवतरण नहुदै जहाज आकाशतर्फ हुत्तियो । तव बिमानभित्र रहेका यात्रुहरु आत्तिए । एकछिनमै जहाज आकाशमा पुग्यो । र, बिमान परिचारिकाले खराव मौसमका कारण बिमान काठमाण्डौं तर्फ लागेको सूचना प्रवाह गरिन् ।

बिमानस्थलबाट पश्चिमतर्फ हानिएको जहाज मोडिएर काठमाण्डौं तर्फ लाग्यो । र, झण्डै ५५ मिनेटपछि जहाज काठमाण्डौं बिमानस्थलमा सकुशल अवतरण भयो । त्यतिबेला रातको १०ः३३ बजेको थियो । गन्तव्यमा ओर्लिन नपाएर निराश भएका यात्रुहरुले सकुशल काठमाण्डौंमा ओर्लिन पाएकोमा शान्तिको सास फेरे । यो घट्ना हो, शनिवार रातिको ।

काठमाण्डौंबाट साँझ ५ः३० बजे उड्नु पर्ने श्री एयरको जहाज राति ८ः४२ मिनेटमा उड्यो । तीन घण्टा अवेर गरेर जहाज उडेपनि यात्रुहरु गन्तव्यमा पुग्ने आशाले उत्साही थिए । जहाजमा एक जोडी दुलाहा दुलही थिए । पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पत्नी गिता सोडारी सहित सोही जहाजमा धनगढीका लागि यात्रा गरिरहेका थिए ।

बाक्लो हुस्सुका कारण जहाज जहाँनिरबाट अवतरण हुनुपथ्र्यो, त्यहाँनिर अवतरण हुन सकेन । त्यसपछि जहाज केहीबेर धावनमार्गमा झिनो दूरी बनाउदै अघि बढ्यो । र, त्यसपछि भने धावनमार्गमा पांग्रा नटेकाई जहाज आकाश तर्फ लाग्यो ।
जहाज ९ः३७ मिनेटमा अवतरणका क्रममा धावनमार्ग छुदै थियो । केहीबेर धावनमार्गमाथि उडेको जहाजले पलभरमै ओभर सुट ग¥यो । र, त्यसपछि हानियो काठमाण्डौं तर्फ । राति १०ः३३ मा जहाज काठमाण्डौं बिमानस्थलमा अवतरण भयो ।

रातिको समयमा सरसामान बोकेर कहाँ जाने ? के गर्ने ? यात्रुहरु अन्यौलमा थिए । जहाजमा यात्रा गरिरहेका ज्येष्ठ नागरिक र बालबालिकासंगै अन्य यात्रुहरुको रातिको त्यो समय ट्याक्सी र सवारी साधन नमिल्दा बिचल्ली भएको थियो । उनीहरु एयरलाईन्स फिर्ता दिएका झोला र अन्य लगेजहरु गन्तव्यसम्म कसरी पुर्याउने भन्ने सकसमा थिए ।

clock आइतबार ०६, माघ २०८१ ०७:५४

प्रतिक्रिया