कैलालीमा माघ १५ गतेबाट त्रिवेणी महोत्सव सञ्चालन हुने
धनगढी । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यही माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ।
शिक्षा, कृषि, संस्कृति तथा जलमार्गको सम्भावना : सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहना भन्ने मूल नाराका साथ चौथो पटक उक्त महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्थाले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।
चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालका अध्यक्ष वीरेन्द्रबहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा पर्ने भेरी, कर्णाली र सेतीको संगम रहेको त्रिवेणी घाट, राजकाँडामा रहेको धुलिखेल, मालिका मन्दिर, कर्णालीका स्वच्छ माछा, र्याफ्टिङ तथा जलमार्गको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनु मद्दत मिल्ने बताए।
महोत्सव आयोजनाबाट सो क्षेत्रको शिक्षा, पर्यटन,कृषि, आर्थिक, धार्मिक, सांस्कृतिक एवम् सामाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
महोत्सवले सो क्षेत्रमा एउटा शव बहान र एम्बुलेन्स सञ्चालनका लागि सम्बन्धित निकायलाई दबाब सिर्जना गर्नुका साथै शैक्षिक संस्थामा इको क्लब निर्माण गरी वातावरण संरक्षणका गतिविधिहरू अघि बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष रावलको भनाइ छ।
महोत्सवमा व्यापार व्यवसाय सञ्चालनका लागि स्टल बुकिङको काम सुरु भइसकेको बताउँदै अध्यक्ष रावलले महोत्सव सञ्चालनका लागि २५ लाख रकम खर्च हुने अनुमान गरिएको बताए। महोत्सवमा एक सय स्टल रहने छन्।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया