कञ्चनपुरमा भारतीय ‘तस्कर’ प्रेमीसँग मिलेर श्रीमानको हत्या, कारण यस्तो रहेछ

  बिहिबार ०३, माघ २०८१ ०८:४९

कञ्चनपुर । कञ्चनपुरमा बिमाको रकम हत्याउन भारतीयसँग मिलेर महिलाले श्रीमानको हत्या गरेको पाइएको छ । बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम राना गत १३ मंसिरमा आफ्नै घरको शौचालयमा मृत भेटिएका थिए ।

रानाको हत्या गरिएको पाइएपछि प्रहरीले १४ मंसिरमा उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा जनककुमारीले सियारामको बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । जोशीले अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको बताए ।

पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ । अर्कोतिर मृतक सियाराम रानाले नेपाल लाईफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको देखिएको डीएसपी जोशी बताउँछन् । भारतीय नागरिक फारुखले योजना बनाएपनि हत्या भने स्वयंम श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएको छ ।

सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । उनीहरुले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए तर मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले गम्भीर रुपमा अनुसन्धान थाल्यो ।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।

खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो तर श्रीमतीमाथि अनुसन्धान गर्ने क्रममा भारतीयसँग मिलेर हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

clock बिहिबार ०३, माघ २०८१ ०८:४९

प्रतिक्रिया