आयल निगमको धनगढी डिपो अत्तरिया स्थानान्तरणको तयारी
काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपो सार्ने प्रक्रिया अघि सारेको छ । धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अत्तरियानजिक डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको निगमले जनाएको छ । निगमले अत्तरिया चोकबाट पूर्वतर्फ पाँच किलोमिटरको दूरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गामा डिपो स्थानान्तरणको प्रक्रिया अघि बढाएको हो ।
२०३७ सालमा दैनिक अधिकतम चार गाडीलाई बनाइएको डिपोले हाल त्यस क्षेत्रका नौ जिल्लालाई पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । उक्त डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुका साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भएपछि स्थानान्तरणको प्रक्रिया अघि बढाएको निगमले जनाएको छ ।
निगमले जग्गा प्राप्ति स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जनाएको छ । २०८२ वैशाखमा शिलान्यास गरी दुई वर्षभित्र डिपो सञ्चालनमा ल्याउने तयारी रहेको इञ्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । जग्गा अधिग्रहणसहितको कुल लागत साढे तीन अर्ब रहेको यादवले बताउनुभयो ।
प्रतिक्रिया